गाडीभाडा नबढेको सरकारको दाबी, यात्रु भन्छन्,‘अघिल्लोपटक भन्दा पाँच सय रुपैयाँसम्म बढी तिर्नुपरेको छ’
अनुसा थापा
भक्तपुर । सरकार भन्छ,‘सार्वजनिक यातायातको भाडा बढेको छैन ।’ सरकारले भनेजस्तै साँच्चै भाडा बढेको छैन त ? दशैंमा घर जान लागेका एक यात्रु सुनाउँछन्,‘एक महिनाअगाडि जाँदा १४ सय तिरेको, अहिले १८ सय ।’ चाबहिलस्थित टिकट काउण्टरबाट बाहिर निस्किँदै गरेका यात्रुले टिकट देखाउँदै भने,‘ओखलढुंगाको टिकट काटेको । बल्लतल्ल ३० गतेको दियो, त्योपनि पछाडि सिटको । अघिल्लोपटक जाँदाभन्दा चार सय रुपैयाँ बढी तिर्नुपर्यो ।’
अन्य यात्रुको गुनासो पनि उस्तै छ । कंलकी, जडीबुटी, बल्खु, बालाजु माछापोखरी, गोगंबु बसपार्कमा टिकट काट्न गएकाहरु अघिल्लोपटकभन्दा दुई सयदेखि पाँच सय भाडा बढी तिर्नुपरेको बताउँछन् । सरकारले गाडीभाडा नबढाएको होला तर काउण्टरले बढी असुलिरहेको छ । खोइ त अनुगमन ? दशैंमा यात्रुलाई मर्कामा पारिएको छ । विद्यार्थी, अपाङ्गता भएका र ज्येष्ठ नागरिकले पाउनुपर्ने छुट दिइएको छैन ।
पुरै भाडा असुलउपर गरिएको छ । नक्कली सिटको पनि टिकट काटिएको छ । सुटकेशलगायत सामानको पनि छुट्टै रकम असुल्ने क्रम जारी छ । टिकटमा यात्रुको नाम लेखिएको छ । तर, गाडी कति वर्ष पुरानो हो ? गाडी नम्बर कति हो ? चालक र साहुको नाम के हो ? च्यान्सिस र इञ्जिन नम्बर कति हो ? टिकटमा यी विवरण खुलाइएको छैन । यात्रुलाई आफूलाई कस्तो गाडीमा लगिँदैछ ? जानकारी छैन ।
सरकारले रुट पर्मिट खुला गरिसकेको अवस्थामा अब काठमाडौं उपत्यकाका सडकमा गुडिरहेका थोत्रा गाडीमा यात्रुलाई जिल्ला पठाइन्छ । जुन गाडी २३ देखि ३५ वर्ष पुरानो छ । पटके काट्ने यातायात कार्यालय हिजोदेखि बन्द भएको छ । पूर्णिमाको भोलिपल्टसम्म ती कार्यालय बन्द रहने जानकारी दिइएको छ । राज्यले राजश्व संकलन गर्ने कार्यालय नै बन्द गरेको छ ।
जिल्लाभर जाने प्रायःजसो जम्बो हायस र माइक्रोबसको पर्मिट छैन । ती गाडी पटकेको भरमा चलिरहेको थियो । हिजोबाट त पटके पनि काट्नुपरेन । कति आनन्द । साना गाडीहरु सिन्धुलीको पटके काटेर झापासम्म पुग्थे । त्यस्ता गाडीलाई कारबाही गर्न नसकेको सरकारले दशैं भन्दै जता जान पनि छुट दिएको छ । त्योपनि राज्यलाई तिर्नुपर्ने शुल्क नबुझाई ।
राज्य र सरकारी कर्मचारी नै यस्तो भएपछि देश कसरी बन्छ ? कानुनले रुट पर्मिटविपरीतको सडकमा गाडी चलाएको अवस्थामा दुर्घटना भएमा इन्स्योरेन्स नपाउने व्यवस्था गरेको छ । अर्थात, सार्वजनिक यातायातले काठमाडौं उपत्यकाको निश्चित रुटमा चल्नेगरी रुट पर्मिट भएको छ । त्यसबाहेक अन्य रुटमा चलाउँदा दुर्घटना भयो भने इन्स्योरेन्स कम्पनीले क्षतिपूर्ति दिँदैन ।
यात्रुको ज्यान जाँदापनि आफन्तले क्षतिपूर्ति पाउँदैनन् । पटके काटेको हकमा क्षतिपूर्ति पाउँछन् । सरकारले रुट पर्मिट खुला गरेर नागरिकले क्षतिपूर्ति पाउने अधिकार खोसेको छ । रुट पर्मिट खुलाएपनि कमसेकम पटके लिने व्यवस्था गर्नुपर्थ्यो । उपत्यकामा चल्ने गाडीहरु विभिन्न जिल्ला गएपछि यात्रुहरुलाई समस्या भएको छ । हिजोदेखि उपत्यकामा गाडीको अभाव देखिन थालिसकेको छ ।
सडकमा गाडी एकदमै पातलो छ । यात्रुलाई अहिले नै घण्टौं कुर्नुपर्ने, ढोकामा झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता भएको छ । २०७१ भदौ १९ गतेको क्याबिनेट बैठकले २० वर्षे गाडी हटाउने निर्णय गर्यो । सोही वर्ष फागुन १८ गते राजपत्रमा प्रकाशित गरियो । यातायात व्यवसायीहरुले १९ वर्ष ११ महिना पुगेको सवारी साधनको लगतकट्टा गर्छन् र निजी नम्बर प्लेटमा दर्ता गर्छन् ।
ती गाडी स्कूलमा विद्यार्थी बोक्न प्रयोग हुन्छ । त्यस्ता गाडीका कारण पोखरामा हालै अप्रिय घटना भयो । विद्यार्थीले अकालमा ज्यान गुमाउनुपर्यो । कतिपय निजी स्कूलले ती गाडी सस्तोमा किन्छन्, कतिपयले भाडामा लिन्छन् । अनि यस्ता दुर्घटना भइरहन्छ, विद्यार्थीहरुले ज्यान गुमाइरहन्छन् । सरकारले निजीको हकमा पनि २० वर्षे लागू गर्नुपर्थ्यो । तर, सरकार त्यसमा चुक्यो ।
जसको मूल्य अबोध विद्यार्थीहरुले चुकाइरहेका छन् । अभिभावकले पनि आफ्ना सन्तान कस्तो गाडीमा चढेका छन् ? गाडी कति वर्ष पुरानो हो ? सोधीखोजी गर्दैनन् । स्कूलको गाडीहरु भटाभट दुर्घटनामा परेर विद्यार्थीले ज्यान गुमाइरहँदा शिक्षा मन्त्रालय, विभाग, यातायात व्यवस्था विभाग के हेरेर बसेको छ ? थोत्रा गाडी चलाउने स्कूललाई कारबाही गर्नुपर्दैन ?
बस फिका नाममा चर्को शुल्क असुल्ने अनि थोत्रा गाडीमा हालेर भीरबाट खसालेर मार्ने ? स्कूलमा चल्ने गाडीको भाडा सरकारले तोकेको होइन । स्कूल आफैंले मनलाग्दी भाडा लिइरहेको छ । त्यसमा नियमन हुन सकेको छैन । स्कूलले प्रतिविद्यार्थी पाँच हजारदेखि ३० हजारसम्म गाडी भाडा लिएको पाइन्छ । बसमा २० देखि ५० लाख रुपैयाँ लगानी गरिएको हुन्छ । आम्दानी पनि मासिक लाखौं हुन्छ ।
तर, आम्दानी र लगानीकै कर तिरिँदैन । पर्यटक बोक्ने हरियो प्लेटको बसको हकमा पनि यही अवस्था छ । सरकार भाडा नतोक्ने, बसहरु मनलाग्दी भाडा उठाउने । न राज्यलाई कर नै तिरेको पाइन्छ । रुट पर्मिट, जाँचपास, प्रदूषण केही पनि गर्दैन स्कूल र हरियो नम्बर प्लेटको बस । पर्यटन विभागलाई हरियो प्लेटको बसमा भइरहेको ठगीमा कुनै चासो छैन । दशैं जाने क्रम बढेसँगै हिजो ट्याक्सीहरुलाई भ्याइ नभ्याइ थियो ।
यात्रुहरुलाई बस स्टेशन पुर्याउन ट्याक्सी भ्याइ नभ्याइ गरेर दौडिरहेको थियो । बा २ ज ३६९३ नम्बरको ट्याक्सीले घट्टेकुलोबाट नयाँ बसपार्क जान १५ सय रुपैयाँ मागिरहेको थियो । यो त एउटा उदाहरण मात्र हो । दशैंकै मौका छोपेर ट्याक्सीहरु यात्रु रिजर्भ लिएर जिल्ला जान्छन् । अघिपछि पाँच हजार उठाउने बाटोमा १५ देखि २० हजार असुलिन्छ । सरकारले लामो समयदेखि नयाँ ट्याक्सीको दर्ता खोलेको छैन ।
उपत्यकामा करोडबराबर जनसंख्या हुँदा कालो प्लेटको ट्याक्सीको संख्या ९ हजार छ । एअरपोर्टमा हरियो प्लेटको ट्याक्सीको संख्या जम्मा २०७ वटा छ । पटकपटक कालो र हरियो प्लेट, फो स्ट्रक टेम्पो र कालीमाटीमा चल्ने ढुवानी गाडीको दर्ता खोल्ने माग भएपनि सरकारले सुनेको छैन । २० वर्षे पुराना ट्याक्सी, ग्याँस टेम्पो र माइक्रोबसको स्क्रयाप गरेको नम्बर प्लेट २० लाख रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
सरकारले नयाँ दर्ता खोलिदिने हो भने राज्यको ढुकुटीमा राजश्व आउँथ्यो । यात्रुले सहज र सुलभ रुपमा यातायात प्रयोग गर्न पाउँथे । नागरिकले रोजगारी पाउँथे । तर, सरकारले यसतर्फ ध्यान छैन । नागरिकले सहज रुपमा सवारी नपाउँदा सरकारी गाडीको दुरुपयोग रोकिएको छैन । हिजो आइतबार सल्लाघारीमा खसी र च्याङ्ग्रा किन्न सेतो नम्बर प्लेटको गाडी ल्याइएको थियो ।
इन्धनको खपत घटाउन भन्दै सरकारले आइतबार बिदा दियो । तर, सरकारी कर्मचारी र जनप्रतिनिधिले त्यसको दुरुपयोग रोकेका छैनन् । दुई दिन बिदा भएपछि झन् फाइदा भएको छ । बिदामा त्यही गाडीमा घुम्न गयो । त्यही गाडीमा दशैंमा सरकारी कर्मचारीहरु घर जान्छन् । सामान किन्न पनि सरकारी गाडी लिएर जान्छन् । तर, कसले अनुगमन गर्ने ? यातायात व्यवसायी सर्वसाधारण लुट्ने, सरकारी कर्मचारी जनताले तिरेको करको दुरुपयोग गर्ने ।
तिनलाई कसले रोक्ने ? बालेन सरकारले के के न गर्ला भनि जनताले १८२ सिटमा जिताए । तर, अहिले थकथकी मान्नुबाहेकको विकल्प छैन । जे सोचिएको थियो, त्यस्तो केही भएन ।
एक्सप्रेस
सम्बन्धित खबर
पानीदेखि औषधिसम्मले निम्त्याउँदै रोग, आफ्नो स्वार्थका निम्ति व्यापारीहरुले सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्दा राज्य मौन !
रुषा थापा
भक्तपुर । काठमाडौं उपत्यकाभित्र वा बाहिर चटपटे, पानीपुरीको व्यापार केही वर्षयता व्यापक मौलाएको छ । सटर भाडामा लिएर वा गाडामा यस्ता व्यापार गर्ने गरिएको छ । एक प्लेट चटपटे वा पानीपुरीको ठाउँअनुसार ६० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म ल...
‘संविधान होइन, चरित्र संशोधन आवश्यक छ’ : प्रा. डा. सुरेन्द्र केसी
मिडियाबाजी डटकम काठमाडौँ , श्रावण ०८ । विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले संविधान संशोधनभन्दा “चरित्र संशोधन” अहिलेको नेपालको मुख्य आवश्यकता भएको बताएका छन्। राष्ट्रिय प्रेस क्लबमा बिहिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रील...
राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान
प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...
सुन व्यापारीहरु बेच्ने बेला मूल्य बढ्छ भन्दै हल्ला गर्ने, किन्ने बेला पैसा छैन भन्ने !
रुषा थापा
भक्तपुर । साउन २१ गते बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार र चाँदी चार हजार पाँच सय ७० रुपैयाँ पुग्यो । नेपालमा सुनचाँदीको मूल्य सम्बन्धित महासंघले निर्धारण गर्दै आएको छ । सुनबाट गरगहना बनाउने ज्याला तोलाको ४५ हजार र...
सर्वसाधारण र व्यापारीमा छैन नयाँ वर्षको उत्साह, महँगी र मन्दीको चिन्ता !
रुषा थापा_________
भक्तपुर । नयाँ वर्ष शुरु भइसकेको छ । तर, आम नागरिकमा नयाँ सालको उत्साहभन्दा पनि चिन्ता देखिन्छ । २०८३ सालमा झन् महँगी बढ्ने बजारमा व्यापक चर्चा छ । आम सर्वसाधारण भन्छन्–पछिल्लो एक महिनामै सयौं गुणा महँगी बढिसक्यो ।...
जित्ने कला “पागलपन” जबसम्म तपाईंले हार मान्नु हुन्न -डिआर दाहाल
जीवनको यात्रा कहिलेकाहीं अनिश्चित, चुनौतीपूर्ण र कठिनाइले भरिएको हुन्छ। हामी सबैले कहिल्यै नसकिए जस्तो लाग्ने समस्याहरू र धेरै असफलताहरूको सामना गर्नुपरेको हुन्छ। तर, जीवनका यस्ता क्षणहरूमा नै तपाईंको दृढता, साहस, र आत्मबलको वास्तविक परीक्षा...



