शनिबार, १७ असोज २०८३
नेपाली

भूमिमन्त्रीलाई प्रश्नः कौडीको भाउमा लिजमा दिइएका सम्झौता खारेजी र अतिक्रमित सरकारी जग्गा कहिले फिर्ता ल्याउने ?

Main News Image

रुषा थापा___________

भक्तपुर । विगतका सरकारको पालामा थुप्रै सरकारी जग्गा व्यक्तिका नाममा गएको वा कब्जा भएको पाइन्छ । राजनीतिक पहुँचमा सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, उद्योग, कारखाना, राजपरिवारलगायतका जग्गा कब्जा गरिनुका साथै दर्ता, लिजमा दिइएको छ । क्याबिनेट्बाटै निर्णय गरेर वा अदालती फैसला आफ्नो पक्षमा पारेर व्यक्ति तथा विभिन्न संघसंस्थाले कौडीको भाउमा सरकारी जग्गा दशकौंका लागि लिजमा पाएका छन् । 

यसका लागि केही उदाहरण नै काफी छ । काठमाडौं महानगरपालिका–२६, गोंगबु नयाँ बसपार्कको एक सय ६१ रोपनी सरकारी जग्गा लोत्से सहकारीलाई कौडीको भाउमा ५० वर्षका लागि लिजमा दिइएको छ । वार्षिक एक करोड दश लाख रुपैयाँ भाडामा दिने सम्झौता लोत्से र काठमाडौं महानगरपालिकाबीच ०५४ सालमा भएको थियो । लोत्सेले जग्गा लिजमा पाएपछि संरचना बनाई व्यापार व्यवसाय गरिआएको छ । 

उसले मासिक अर्बौ आम्दानी गर्छ । तर, महानगरलाई भने जम्मा करोड तिरिन्छ । यतिमात्र होइन, बसपार्कको जग्गा कब्जा गरेर घर, भवनसमेत बनाइएको छ । लिजको नाममा सरकारी जग्गा कब्जा भइरहँदा महानगर न लोत्सेसँगको सम्झौता तोड्छ न कति जग्गा कब्जा भयो भनेर खोजतलास नै गर्छ । देशभर लाखौं रोपनी सरकारी जग्गा कब्जा भएको छ । यो त एउटामात्र उदाहरण हो । 

राजनीतिक दलका नेता, कर्मचारी, कानून व्यवसायीलाई हातामा लिई सरकारी जग्गामाथि गिद्धेनजर लगाउने, हड्पने, दर्ता गर्ने क्रम अझैपनि जारी नै छ । यतिमात्र होइन, सरकारी जग्गा नै धितो राखेर बैंक, वित्तिय संस्थाबाट ऋणसमेत निकालिएको पाइन्छ । चितवनमा भरतपुर अस्पतालको ३१ बिगाहा जग्गा निजी मेडिकल कलेजको नाममा राखेर बैंकबाट अर्बौ ऋण लिइएको छ । 

लिजको नाममा कौडीको भाउमा ४९ वर्षका लागि कलेज अफ मेडिकल साइन्सलाई दिइएको जग्गा धितो राखेर बैंकबाट एक अर्ब बढी ऋण निकालिएको हो । जग्गा लिजमा दिने निर्णय शेरबहादुर देउवा नेतृत्वको क्याबिनेटले ०५३ असार १४ गते गरेको थियो । उता, पूर्वी नवलपरासीमा पनि भृकुटी कागज कारखानाको ७८० रोपनी सरकारी जग्गामा गोल्छा अर्गनाइजेशनको रजाईं चलेको छ । 

०४९ कात्तिक ५ गते १७ करोड रुपैयाँ यो जग्गा खरिद गर्ने सम्झौता गोल्छा अर्गनाइजेशनको लगानी रहेको हिमाली पाइपे र सरकारबीच भएको थियो । तर, कम्पनीले अहिलेसम्म झण्डै पाँच करोड रुपैयाँ तिरेको छैन । फेरि जग्गा धितो राखेर बैंकबाट १२ अर्ब ऋण लिइएको छ । यस्तै, धरानमा सर्दु जलाधारको चार हजार पाँच सय २४ रोपनी सरकारी जग्गा तत्कालिन न्यायाधीश सुशीला कार्कीसहितको त्रुटिपूर्ण फैसलाका कारण भूमाफियाहरुको कब्जामा गएको छ । ०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा झापाको गिरिबन्धु टि स्टेटको जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय क्याबिनेटबाट गरियो । 

०६० सालमा सूर्यबहादुर थापा नेतृत्वको क्याबिनेटले गिरिबन्धुको बाँकी जमिनसमेत व्यक्तिलाई दिने निर्णय गर्यो । ०७८ वैशाख ७ र १३ गतेको केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले पनि सोही निर्णयलाई निरन्तरता दियो । विराटनगर जुट मिलदेखि विभिन्न सरकारी उद्योगको जग्गा कौडीको भाउमा बेच्ने वा लिजमा दिने निर्णय विगतका सरकारको पालामा भएको छ । 

०४७ सालमा अन्तरिम सरकारको प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईले बालुवाटारस्थित ललिता निवास र बौद्ध चुच्चेपार्टी (हाल हायत होटल रहेको) को जग्गा व्यक्तिलाई दिने निर्णय क्याबिनेटमार्फत गराए । सँगै सिंहदरबारपछाडिको बाटो खोलिदिए । जसका कारण त्यहाँको सयौं रोपनी सरकारी जमिन व्यक्तिको कब्जामा गयो । 

अनामनगर, हनुमानथान, बिजुलीबजार, धोवीखोला, बबरमहल, सिडिओ कार्यालय दायाँबायाँ, माइतीघर, रामशाहपथस्थित अन्नपूर्ण अस्पताल, घट्टेकुलो चोक, कालीस्थान, पुतलीसडक बाँसघारी, मैत्रीदेवी पेट्रोल पम्प, सिफलचौर, माइती नेपालसम्मको सरकारी जग्गा व्यक्तिका नाममा गएको छ । 

०६६ सालमा प्रधानमन्त्री बनेका माधवकुमार नेपालले पनि ललिता निवास, कालोपुलको १४ रोपनी जग्गा व्यक्तिलाई दिनसँगै काभ्रेको साँगास्थित आठ सय १७ रोपनी र धुलिखेलको ८८ रोपनी जग्गा भारतीय कम्पनी पतञ्जलीलाई दिने निर्णय गरे । उनको पालामा धेरै सरकारी जग्गा व्यक्तिका नाममा गएको छ । झलनाथ खनाल प्रधानमन्त्री र सञ्चारमन्त्री हुँदा गुम्बा बनाउने नाममा सरकारी जग्गा व्यक्तिलाई दिनुका साथै सर्प पाल्ने भन्दै करोडौं भ्रष्टाचार भयो । 

यता, बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि थानकोट मातातीर्थ, ललिता निवासलगायतको हजारौं रोपनी जग्गा व्यक्तिलाई दिने निर्णय क्याबिनेटबाटै गरियो । गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री हुँदा राजनीतिक दलसहित विभिन्न संघसंगठनको पार्टी कार्यालय स्थापनाका निम्ति हजारौं रोपनी सरकारी जग्गा बाँडेका थिए । भक्तपुरको सल्लाघारी तीनकुनेमा ०२४ सालमा तत्कालिन राजा महेन्द्रले एक सय दश रोपनी जग्गा किनेका थिए, स्थानीयसँग प्रतिरोपनी एक हजार रुपैयाँमा । 

उक्त जग्गा लालपूर्जामा एक सय दश रोपनी रहेपनि नापजाँच गरिँदा एक सय ४५ रोपनी रहेको बताइन्छ । ०६५ सालमा राजतन्त्रको अन्त्यसँगै यो जग्गा नेपाल ट्रष्टको संरक्षणमा गर्यो । तर, ट्रष्टको बेवास्ताका कारण जग्गामा व्यक्ति र नगरपालिकाको रजाईं चलेको छ । जग्गा कब्जा गरेर निजी घरलगायत भवन ठड्याइएको छ । यतिमात्र होइन, जग्गामा पर्खाल लगाउने नाममा समेत करोडौं भ्रष्टाचार भएको आरोप छ । ०७४ सालमा अर्थ मन्त्रालयले यो जग्गा घेराबन्दीका निम्ति भक्तपुर नगरपालिकालाई तीन करोड रुपैयाँ दिएको थियो । 

नगरपालिकाले नापजाँचबिनै जग्गामा पर्खाल र गेट लगायो । त्यसमा बढीमा ३० लाख रुपैयाँ खर्च भएको र बाँकी रकम कुम्ल्याइएको स्थानीयको आरोप छ । तीनकुने चौरनजिकै यातायात कार्यालय छ । त्यसकै अगाडि ठूलो घर छ, जहँँ किराना पसलदेखि फलफूल, चिया, ब्यूटी पार्लरसम्म सञ्चालन हुँदै आएका छन् । त्यो घर विकुलाल खिउँजुको हो । उनले तीन वटा ढुंगेधारा र राजकुलो मासेर घर बनाएको आरोप छ । 

यद्यपि, नेमकिपाको कार्यकर्ता भएकै कारण उनले सम्पन्नता प्रमाणपत्र पाइसके । सल्लाघारी आर्मी ब्यारेक दायाँबायाँ, चंगा गणेशथान, खरिपाटी जाने बाटो, दुवाकोट जाने टेम्पोपार्क, निकोसेरा, राधेराधे र सिर्जनानगर पुरैलाई ०२१ सालमा नापीका क्रममा सरकारी, गुठी, ऐलानी, आर्यघाट र सिमसार क्षेत्रमा राखिएको थियो । तर, अहिले यहाँ निजी घरैघर बनिसकेका छन् । भक्तपुरमा मात्र एक लाख ६७ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गएको तथ्यांक छ । 

अब बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले व्यक्तिका नाममा लगिएकोसहित कौडीको भाउमा लिजमा दिइएका सरकारी जग्गाको खोजबिन शुरु गर्नुभएको छ । र, त्यस्ता लिज सम्झौता खारेज गर्नुपर्छ । यसअघिका मन्त्रिपरिषद्बाट व्यक्तिका नाममा सरकारी जग्गा दिने भनी गरिएका निर्णय खारेज गरिदिनुपर्छ भूमिमन्त्री प्रतिभा रावलको यसतर्फ ध्यान जाओस् र तत्काल कदम चालियोस् । उनले यो काममा ढिलाई गर्नुहुन्न । देशभर अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने जिम्मा उनको काँधमा छ, मन्त्री रावलले आफ्नो जिम्मेवारी पूरा गरुन् । 


mediabaaji add

सम्बन्धित खबर

राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान

प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...

नेपालको बौद्धिक सम्पत्ति : अब ज्ञान बेच्ने होइन, ज्ञानको स्वामित्व राख्ने बेला

अधिवक्ता पदम सुबेदी

नेपालले विकासको बहसमा सडक, पुल, विमानस्थल, जलविद्युत् र विदेशी लगानीको हिसाब धेरै गर्‍यो। तर अब अर्को प्रश्न सोध्ने बेला आएको छ—नेपालको ज्ञानको मूल्य कति छ? हामीसँग हिमाल छ, जडीबुटी छ, जैविक विविधता छ, मौलिक...

वित्तिय पीडितहरु महिनौंदेखि सडकमा, सरकार भने दुर्गा प्रसाईंतिर व्यस्त !

रुषा थापा_____

भक्तपुर । लघुवित्त पीडितहरुको आन्दोलन जारी छ । महिनौंदेखि उनीहरु राष्ट्रिय मानव अधिकार आयोगलगायत निकायमा धर्ना दिइरहेका छन् । उनीहरुको पीडा सहिनसक्नु छ । जायजेथा सबै गुमाएपछि उनीहरु सडकमा उत्रिएका हुन् । विडम्बना, सरकार...

भोगीको दार्शनिक पथ ! भोग दर्शन !

© निर्मल पुरी 'भोगी' 

मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १३। सामान्य अर्थमा भोग दर्शन ,भोगविलास , आनन्द वा रुचिहरूको लागि बहस गर्ने दर्शन हो । यसलाई मिश्रित दार्श...

लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा

मिडियाबाजी डटकम काठमाडौँ आश्विन ३० ,काठमाडौँ ।लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्...

सरकार काम नगर्ने, सांसदहरु सदन नआउने !

रुषा थापा______

भक्तपुर । गत फागुन २१ ग्ते प्रतिनिधिसभा सदस्य निर्वाचन भयो । २७५ मध्ये एक सय ८२ सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित्यो । त्यसपछि चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्री ब...