सरकारी कर्मचारी र जनप्रतिनिधिलाई खातैखात, निजीमा काम गर्नेको सँधै पुर्परोमा हात !
अनुसा थापा
भक्तपुर । सरकारले निजी क्षेत्रमा काम गर्नेको न्यूनतम तलब मासिक २१ हजार पाँच सय रुपैयाँ तोक्यो । संघसंस्था, होटल–रेष्टुरेण्ट, घरायसी काम, पसललगायत हरेक क्षेत्रमा श्रमिक लगाउँदा अनिवार्य तोकेको तलब दिनुपर्ने सरकारको नियम छ । सार्वजनिक बिदाको दिन बिदा दिनुपर्ने, बिहान १० बजेदेखि ५ बजेसम्म मात्र काममा लगाउन पाइने, उपचार खर्च, चाडपर्व पेश्कीलगायत श्रमिकले पाउने सेवासुविधा दिनुपर्ने सरकारको निर्णय छ ।
कार्यालय समयभन्दा बढी काम लगाउँदा ओभरटाइम दिनुपर्ने व्यवस्था छ । तर, यो कार्यान्वयनमा जान नसकेको अवस्था छ । निजी क्षेत्रमा काम गर्नेको तलब पाँच वर्षअघि तोकिदाँ सरकारी कर्मचारी तलब चालु आर्थिक वर्षमा बढाइएको छ । आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत २१ प्रतिशत तलब वृद्धि गरिएको छ । महँगी भत्ता पाँच हजार यथावत राखिएको छ । कर्मचारीको तलब बढेसँगै जनप्रतिनिधिको तलब पनि स्वतः बढेको छ ।
सरकारीमा जागिरेलाई महँगी बढ्दा निजीमा काम गर्नेलाई बढेको छैन ? त्यसो त यो विभेद किन ? सरकारीको बढाउने, निजीमा काम गर्ने श्रमिकलाई बेवास्ता गर्न मिल्छ, सरकारले ? २१ हजार पाँच सय न्यूनतम तलब भएतापनि निजीमा काम गर्नेहरु न्यून तलबमा काम गर्न बाध्य छन् । मासिक पाँच हजारदेखि १५ हजारमा उनीहरु महिनाभर खटिरहेका छन् । न उनीहरुले सार्वजनिक बिदाको दिन छुट्टी पाउँछन् न सरकारले तोकेका अन्य सुविधा ।
आर्थिक मन्दीको बहानामा रोजगारदाताले श्रमिकले यही न्यून तलब पनि महिनौंदेखि दिएका छैनन् । जसको उदाहरण स्वयं मिडिया हाउस हुन् । पत्रकारहरुले लामो समयको तलब पाउन सकेका छैनन् । पाँच वर्षयता तलब नबढेपनि बजार महँगी बढ्यो, कोठाभाडा बढ्यो, गाडीभाडा बढ्यो । सरकारले तलब त बढाएन, तर न्यूनतम तलब नदिनेलाई कारबाही पनि गरेन ।
सरकारले जनप्रतिनिधि र सरकारी कर्मचारीलाई मात्र मान्छे सोच्यो । निजी क्षेत्रमा काम गर्ने त मान्छे नै होइनन्, उनीहरुलाई खानै पर्दैन, कोठाभाडा तिर्नै पर्दैन भन्ने खालको नियत सरकारको देखियो । सरकारी जागिरेलाई जति महँगी बढेको छ, निजी क्षेत्रलाई पनि उति नै महँगी बढेको छ । सबैले प्रयोग गर्ने सामानको भाउ सराबरी नै छ । तर, तलबमा चाँहि राज्यद्धारा नै विभेद भइरहेको छ ।
यो वर्षको दशैं आउन ४५ दिन मात्र बाँकी छ । बालेन्द्र साह नेतृत्वको सरकार बनेपछि बजार भाउले आकाश छोएको छ । अहिले नै सामानको भाउ ह्वात्तै बढिसकेको छ । बजारमा कालोबजारी शुरु भइसकेको छ, अनुगमन शून्यबराबर छ । अब फेरि गाडी भाडा बढाउने चलखेल शुरु हुन्छ । उसैपनि पाँच सय रुपैयाँमा पुगिने बाटोमा दशैं लाग्नेबित्तिकै यातायात व्यवसायीले हजार रुपैयाँ ठट्याउँछन् ।
यता, सरकारले त्यसमाथि गाडी भाडा बढाउँछ । मासु त छोइनसक्नुभएको छ । कुखुरामा बर्डफ्लुको बहानामा खसीको मासुको भाउ बढाएर १९ सयसम्म पुर्याइएको छ । दशैंमा त खसीको मासु २५ सय रुपैयाँ पुग्छ । सर्वसाधारणले दशैं कसरी मान्ने ? किसानसँग प्रतिकिलो पाँच सयमा किनेर ल्याएर खसीको मासु २५ सयमा बेचिन्छ । तर, कसले अनुगमन गर्ने ?
घरधनीले महिनैपिच्छे भाडा बढाउँछन् । प्रतिवाद गर्नेबित्तिकै कोठा सरेर जाँ भन्छन् । गरिबमाथि जताबाट पनि दमन मात्र भइरहेको छ । आर्थिक कमजोर भएकाहरु अब यहाँ बाँच्न नसक्ने अवस्था बनेको छ । बजार भाउ बढेको बढ्यै हुँदा अनुगमन गर्ने निकाय हातमा दही जमाएर बसेको छ । हुन त तिनको सरकारको तलब बढाइहाल्यो । उल्टै घुस पनि खान्छन् । जनता ठगिऊन् कि भोकभोकै मरुन् तिनलाई के मतलब ।
जनता गाडी भाडा तिर्न नसकेर पैदल हिँडिरहेका छन् । सरकारी कर्मचारीको सुविधाका निम्ति सरकारले सरकारी गाडी प्राइभेट नम्बर प्लेटको बनाइदिएको छ । अब सरकारी गाडीको दुरुपयोग ह्वात्तै बढ्छ । सरकारी नम्बर प्लेट हुँदा त दुरुपयोग गर्न नछोड्ने कर्मचारीको मनोबल सरकारले बढाएको छ । जनताले तिरेको करबाट पेट्रोल हाल्छन्, निजी नम्बर प्लेट भएको सरकारी गाडी लिएर डुल्न जान्छन् ।
जनतालाई करको भार बोकाउने अनि जनप्रतिनिधि र सरकारी कर्मचारी मोजमस्ती गर्ने । कर तिर्ने जनतालाई चाँहि केही छैन । उनीहरुले आफ्नो श्रमअनुसारको तलब पनि पाउन सकेका छैनन् । बहालवाला र पेन्सन होल्डर सरकारी कर्मचारीलाई उपचारमा सहुलियत हुन्छ । दशैं, पोशाक, महँगी भत्तादेखि सबै पाउँछन् । तर, निजीका कर्मचारीले बिरामी हुँदा त्यहीँ न्यून तलबबाट उपचार गराउनुपर्छ ।
लोकतन्त्रको नाममा नेता र सरकारी कर्मचारी मोटाउने काम मात्र भयो । काम लगाउने साहु मोटाएको मोटायै छन्, श्रम गर्नेलाई बिहान बेलुका छाक टार्न पनि धौं धौं छ । दशैं ढोकामा छ, अग्रिम टिकट खोल, घर जाने वातावरण सहज बनाऊँ भनेर सरकारले भन्दैन । यसपालि पनि ज्यान जोखिममा राखेर जनता घर फर्किनुपर्ने नियति दोहोरिने निश्चित छ । एकातिर महँगो भाडा तिर्नुपर्छ, अर्कोतिर ज्यानको बाजी राखेर यात्रा गर्नुपर्छ ।
अब सरकारले धमाधम बजार अनुगमन गर्ने हो । त्यो पनि गरेको छैन । गरिब जनताले अब चाडपर्व मनाउन छोड्नुपर्ने भयो । गरिब र श्रमिकको नारा लगाएर राजनीतिक दल सत्तामा पुगे । कलाकारहरुले पनि गरिब र श्रमिकको कथावस्तुमा थुप्रै फिल्म बनाए । तर, गरिब त गरिब नै रहेँ । गरिबको नाममा अरुले पौडी खेले । गरिब जहाँको त्यही छन् । उनीहरुको समस्या जस्तोको त्यस्तै छ ।
धनीले पनि गरिब लुट्ने, राज्यले पनि गरिब लुट्ने । राजनीतिक दलका नेताहरु देशमा लोकतन्त्र आयो भन्छन् । तर, कसको लागि आयो लोकतन्त्र । यही राजनीतिक दलका नेता र सरकारी कर्मचारीलाई होइन । जनताले त लोकतन्त्र आएको महसुश गर्नै पाएका छैनन् । धनी झन्झन् धनी हुँदै गएका छन् । गरिब झनै गरिब बनिरहेका छन् । गरिबहरु त बाँच्नै नसक्ने अवस्थामा पुगेका छन् ।
न उनीहरु खान सक्छन् न उपचार गर्न । भारतमा जनतालाई राशन कार्ड दिइएको छ । राशनमा जनताले छुट पाउँछन् । कतिपय देशमा बेरोजगारलाई भत्ता दिइन्छ । तर, नेपालमा के छ ? धनीले जति हालेर सामान किन्छन्, गरिबले पनि त्यति नै हाल्नुपर्छ । यद्यपि, आम्दानी त उनीहरुको धनीभन्दा निकै न्यून छ । गरिबलाई कतैपनि सहुलियत भएन । बेरोजगारलाई भत्ता दिने भन्दै एमाले नेता महेश बस्नेतले राष्ट्रिय युवा संघ खोले ।
उनी सांसदर मन्त्री बने । खोइ त बेरोजगारलाई भत्ता ? अहिलेसम्म कतिले पाए बेरोजगार भत्ता ? हरेकपल्ट जनतालाई यसैगरी झुक्याउने र आफू सत्तामा पुग्ने खेल भइरहेको छ । आज देशलाई यो अवस्थामा पुर्याउने नेता र कर्मचारी हुन् । यो कुरा जनताले बुझ्नैपर्छ । जनता कर तिर्ने, उनीहरु विभिन्न बहानामा खाने । तिनीहरुलाई पाल्न र तिनका सेवासुविधाका निम्ति जनताले कर तिरिरहनुपरेको छ ।
अब पार्टीको सदस्यता लिने होइन, जनता बन्ने हो । आफ्नो हकका लागि बोल्ने हो । राजनीतिक दल र कर्मचारीले देश डामाडोल बनाइसकेका छन् । जनताको आँखा नखुलेसम्म ढाड सेक्ने क्रम चलिरहन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
हात्ती आयो हात्ती आयो फुस्सा भयो सङ्घीयता
© हरि खतिवडा
काठमाडौँ । नेपालीमा एउटा उखान छ नि “भूँइको टिप्न खोज्दा पोल्टाको खस्यो “हो त्यस्तै बाटोमा लम्किरहेका छौँ हामी ।अरु देशले आफ्नो सँस्कृतिलाई मोडिफाई गर्दै विश्वलाइ आफ्नोपन चखाउँछन् ,हाम...
रवि–बालेनः सरकारको विरोध गरेर सत्तामा पुगे, अहिले विरोधीहरुलाई जेल कोच्दै !
रुषा थापा___
भक्तपुर । भनिन्छ, मानिसलाई सबैभन्दा बढी माया जन्म दिने आमाबुवा र मातृभूमिको हुन्छ । तर, वैदेशिक रोजगारी वा शिक्षाका निम्ति विदेशिने र उतैको पीआर, ग्रिन कार्ड लिने नेपाली बढ्दो छन् । आफ्ना आमाबुबा, मातृभूमि, गाउँघर,...
जित्ने कला “पागलपन” जबसम्म तपाईंले हार मान्नु हुन्न -डिआर दाहाल
जीवनको यात्रा कहिलेकाहीं अनिश्चित, चुनौतीपूर्ण र कठिनाइले भरिएको हुन्छ। हामी सबैले कहिल्यै नसकिए जस्तो लाग्ने समस्याहरू र धेरै असफलताहरूको सामना गर्नुपरेको हुन्छ। तर, जीवनका यस्ता क्षणहरूमा नै तपाईंको दृढता, साहस, र आत्मबलको वास्तविक परीक्षा...
भोगीको दार्शनिक पथ ! भोग दर्शन !
© निर्मल पुरी 'भोगी'
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १३। सामान्य अर्थमा भोग दर्शन ,भोगविलास , आनन्द वा रुचिहरूको लागि बहस गर्ने दर्शन हो । यसलाई मिश्रित दार्श...
नेपाल कालोसूचीमा गर्ने दिन घर्किँदै, अर्थमन्त्री वाग्ले आफ्नै पारामा !
रुषा थापा_______________
भक्तपुर । माघ महिना आउन आठ महिनामात्र बाँकी छ । आठ महिनाभित्र नेपाल ग्रेलिष्टबाट नहटे कालोसूचीमा पर्नेछ । वालेन्द्र शाह (वालेन) नेतृत्वको रास्वपा सरकार गठन भएको एक महिना पूरा भएको छ । यसबीचम...
स्वास्थ्य बीमाः हुनेखानेले उपभोग गर्दा राज्य कंगाल, गरिब उपचारबाट वञ्चित, अब चाँहि मापदण्ड बनाउने कि !
रुषा थापा________
भक्तपुर । पछिल्लो समय घरैपिच्छे रोगी भेटिन्छन् । एउटै घरमा विभिन्न रोगबाट पीडितहरु हुन्छन् । ग्याट्रिक, सुगर, प्रेसर त मानिसका निम्ति सामान्यजस्तै रोग बनिसकेको छ । जोकोही यी रोगबाट ग्रसित देखिन्छन् । यसबाहेक क...

