अबको शिक्षा प्रणाली कस्तो हुनुपर्छ? रटानबाट सोचाइ, प्रमाणपत्रबाट क्षमता र कक्षाकोठाबाट वास्तविक जीवनतर्फ
हामीले आजका बालबालिकालाई हिजोको संसारका लागि होइन, भोलिको संसारका लागि तयार गर्दैछौँ। तर प्रश्न छ—भोलिको संसार कस्तो हुन्छ?
कृत्रिम बुद्धिमत्ता (AI), स्वचालन, डिजिटल प्रविधि, जलवायु परिवर्तन, बदलिँदो रोजगारी, उद्यमशीलता र विश्वव्यापी प्रतिस्पर्धाले मानिसले काम गर्ने, सिक्ने र बाँच्ने तरिकालाई तीव्र रूपमा परिवर्तन गरिरहेका छन्।
त्यसैले अब शिक्षा प्रणालीको मूल प्रश्न “विद्यार्थीले कति कुरा सम्झियो?” मात्र हुनु हुँदैन। प्रश्न हुनुपर्छ—“विद्यार्थीले सिकेको कुरा प्रयोग गर्न सक्छ कि सक्दैन? समस्या समाधान गर्न सक्छ कि सक्दैन? नयाँ कुरा सिक्न सक्छ कि सक्दैन? प्रविधिलाई जिम्मेवार ढंगले प्रयोग गर्न सक्छ कि सक्दैन? र आफ्नो जीवन तथा समाजका लागि सही निर्णय गर्न सक्छ कि सक्दैन?”
आर्थिक सहयोग तथा विकास संगठन (Organisation for Economic Co-operation and Development–OECD) को Future of Education and Skills 2030 ले भविष्यको शिक्षामा ज्ञानसँगै सीप, दृष्टिकोण, मूल्य, विद्यार्थीको सक्रिय सहभागिता (agency) र कल्याण (well-being) लाई महत्त्व दिएको छ। यसको Learning Compass ले विद्यार्थीलाई केवल निर्देशन पछ्याउने व्यक्ति नभई आफ्नो भविष्य निर्माण गर्न सक्ने सक्रिय सिकाइकर्ताका रूपमा विकास गर्ने दृष्टिकोण प्रस्तुत गर्छ।
१. रट्ने होइन, सोच्ने शिक्षा चाहिन्छ
परम्परागत शिक्षामा धेरै समय सूचना सम्झन र परीक्षामा पुनः प्रस्तुत गर्न खर्च हुन्छ। तर इन्टरनेट र AI को युगमा सूचना आफैँमा दुर्लभ वस्तु रहेन। आज एउटा विद्यार्थीले केही सेकेन्डमै हजारौँ स्रोतबाट जानकारी प्राप्त गर्न सक्छ।
त्यसैले अबको शिक्षाले Critical Thinking, Creativity, Concentration, Focus, Meditation, Memory Power र Problem Solving जस्ता क्षमता विकासमा बढी जोड दिनुपर्छ।
विद्यार्थीलाई “यो उत्तर हो” भन्नुभन्दा “तिमीलाई किन यस्तो लाग्छ?”, “यसको अर्को समाधान के हुन सक्छ?”, “यसलाई प्रमाणित कसरी गर्ने?” जस्ता प्रश्न गर्न सिकाउनुपर्छ।
सुँगा रटाइले शिक्षामा वास्तविक परिवर्तन आउँदैन। एउटा मयूर जंगलबाट बाहिर निस्कियो भने उसले आफ्नो प्रतिभा देखाउने अवसर पाउन सक्छ; तर सधैँ जंगलमै सीमित रह्यो भने उसको सम्भावना त्यहीँ हराउन सक्छ। हाम्रो वर्तमान शिक्षाले पनि धेरै विद्यार्थीलाई किताबी ज्ञानको सीमाभित्रै हराइरहेको अवस्था सिर्जना गरेको छ।
वर्षौँको शिक्षापछि विद्यार्थीले प्रमाणपत्र त प्राप्त गर्छ, तर कतिपय अवस्थामा जीवन जिउने कला, निर्णय गर्ने क्षमता, समस्या समाधान गर्ने सीप र आफ्नो सम्भावना पहिचान गर्ने अवसर पर्याप्त रूपमा पाउन सक्दैन।
हाम्रा आजका विद्यार्थी फरक समयमा जन्मिएका छन्। त्यसैले उनीहरूलाई दशकौँ पुरानो शिक्षण शैली मात्र पर्याप्त हुँदैन। उनीहरूलाई यस्तो शिक्षा चाहिन्छ, जसले पढेको कुरा जीवनमा कहाँ र कसरी प्रयोग गर्ने भन्ने सिकाओस्।
विद्यार्थीलाई पढ्न मन नलाग्नुका धेरै कारणमध्ये एउटा कारण यो पनि हुन सक्छ—“मैले यो किन पढ्ने? यसको मेरो जीवनमा के उपयोग हुन्छ?”
यदि विद्यार्थीले पढाइलाई आफ्नो जीवन, भविष्य र सपनासँग जोड्न सकेन भने सिकाइ बोझ बन्न सक्छ।
हामीले विद्यार्थीलाई उत्तर लेख्न सिकायौँ; अब प्रश्न गर्न सिकाउनुपर्छ।
उनीहरूलाई जानकारी दियौँ; अब जिज्ञासु बन्न सिकाउनुपर्छ।
साँचो शिक्षा सही उत्तर दिन सिकाउनु मात्र होइन; सही प्रश्न सोध्न सिकाउनु पनि हो।
२. AI लाई रोक्ने होइन, जिम्मेवार रूपमा प्रयोग गर्न सिकाउने
अबको पाठ्यक्रममा AI (Artificial Intelligence) लाई अनिवार्य रूपमा समावेश गर्ने विषयमा गम्भीर बहस आवश्यक छ। कृत्रिम बुद्धिमत्ता अब भविष्यको विषय मात्र रहेन; यो वर्तमान शिक्षाको महत्वपूर्ण हिस्सा बनिसकेको छ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (UNESCO) ले पनि AI ले शिक्षामा नयाँ अवसर सिर्जना गर्नुका साथै शासन, नैतिकता, समान पहुँच र जिम्मेवार प्रयोगसँग सम्बन्धित महत्वपूर्ण प्रश्नहरू उठाएको बताउँदै आएको छ।
त्यसैले अब विद्यार्थीलाई “AI प्रयोग नगर” भन्नुभन्दा “AI को जिम्मेवार, सुरक्षित र प्रभावकारी प्रयोग कसरी गर्ने?” सिकाउनु आवश्यक छ।
विद्यार्थीले AI बाट कुनै उत्तर वा जानकारी लिएपछि त्यसलाई जस्ताको तस्तै स्वीकार गर्नु हुँदैन। उनीहरूले:
जानकारी सही हो कि होइन जाँच गर्ने,
विश्वसनीय स्रोत खोज्ने,
प्राप्त जानकारी आफ्नै भाषामा बुझाउने,
तथ्य र रायबीच फरक छुट्याउने,
AI ले दिएको उत्तरमाथि प्रश्न गर्ने,
AI को उत्तरलाई अन्धाधुन्ध स्वीकार नगर्ने,
गोपनीयता र नैतिकताको ख्याल गर्ने
जस्ता सीप विकास गर्नुपर्छ।
AI को सही प्रयोगबाट एक दिन लाग्ने कामलाई केही घण्टामै सम्पन्न गर्न सकिन्छ। ठूलो मात्रामा सूचना खोज्न, व्यवस्थित गर्न, तुलना गर्न र विश्लेषण गर्न पनि AI ले सहयोग गर्न सक्छ। त्यसैगरी, प्रविधिको प्रभावकारी प्रयोगबाट लामो समय लाग्ने सिकाइलाई अझ व्यक्तिगत, अन्तरक्रियात्मक र प्रभावकारी बनाउन सकिन्छ।
यसरी बचत भएको समयलाई सञ्चार, सिर्जनशीलता, नेतृत्व, समस्या समाधान, उद्यमशीलता तथा अन्य जीवनोपयोगी सीप विकासमा प्रयोग गर्न सकिन्छ।
तर यसको अर्थ विद्यार्थीले अब आफैँ सोच्नै नपर्ने भन्ने होइन। AI ले काम सजिलो बनाउँदै जाँदा मानवको सोच्ने क्षमता झन् बलियो बनाउनुपर्छ।
भविष्यमा AI प्रयोग गर्न सक्ने विद्यार्थी मात्र पर्याप्त हुनेछैनन्। AI ले दिएको उत्तरमाथि सोच्न, प्रश्न गर्न, तथ्य जाँच्न र त्यसको सत्यता परीक्षण गर्न सक्ने विद्यार्थी अझ महत्वपूर्ण हुनेछन्।
३. पाठ्यक्रममा जीवनोपयोगी सीप अनिवार्य हुनुपर्छ
विद्यालयबाट उत्तीर्ण भएपछि विद्यार्थीले गणित, विज्ञान, भाषा र सामाजिक अध्ययनको ज्ञान मात्र बोकेर बाहिर निस्कनु पर्याप्त हुँदैन।
उसले आफ्नो पैसा व्यवस्थापन गर्न, समयको सही उपयोग गर्न, सार्वजनिक रूपमा बोल्न, टोलीमा काम गर्न, समस्या समाधान गर्न, निर्णय लिन, असफलताबाट सिक्न र आफ्ना भावनालाई व्यवस्थापन गर्न पनि जान्नुपर्छ।
त्यसैले अबको पाठ्यक्रममा Financial Literacy, Communication Skills, Emotional Intelligence, Digital Literacy, Entrepreneurship, Career Guidance, Leadership, Life Skills, Dream, Vision and Goal Setting, Respect for Parents and Teachers तथा Mental Well-being जस्ता विषयलाई व्यवहारिक रूपमा समेटिनुपर्छ।
यी विषयहरू केवल किताबमा पढाइने सिद्धान्तमा सीमित हुनु हुँदैन। विद्यार्थीले वास्तविक जीवनसँग जोडेर सिक्ने अवसर पाउनुपर्छ। उदाहरणका लागि, पैसा व्यवस्थापन सिकाउँदा केवल परिभाषा पढाउने होइन, बजेट कसरी बनाउने, बचत कसरी गर्ने र आवश्यक तथा अनावश्यक खर्च कसरी छुट्याउने भन्ने व्यवहारिक अभ्यास गराउनुपर्छ।
त्यस्तै, Communication Skills सिकाउँदा केवल परीक्षा लेख्ने अभ्यास होइन, आफ्नो विचार स्पष्ट रूपमा व्यक्त गर्ने, अरूको कुरा ध्यानपूर्वक सुन्ने र सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्ने क्षमता विकास गर्नुपर्छ।
शिक्षाले विद्यार्थीलाई केवल “के पढ्ने?” भन्ने प्रश्नको उत्तर दिनु पर्याप्त हुँदैन। अब शिक्षाले “कसरी बाँच्ने, कसरी निर्णय गर्ने, कसरी अघि बढ्ने र कसरी सफल हुने?” भन्ने कुरा पनि सिकाउनुपर्छ।
किनकि भविष्यको शिक्षा प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र होइन; जीवनलाई सही ढंगले बुझ्ने, निर्णय गर्ने र आफ्नो सम्भावनालाई वास्तविक उपलब्धिमा बदल्ने आधार बन्नुपर्छ।
४. “पढाइदेखि कमाइसम्म” जोडिनुपर्छ
नेपालको शिक्षा प्रणालीमा अर्को महत्वपूर्ण प्रश्न हो—शिक्षा पूरा गरेपछि विद्यार्थी कहाँ पुग्छ?
अबको विद्यार्थीले पढाइसँगै सीप पनि सिकिसकेको हुनुपर्छ। हाम्रो वर्तमान प्रणालीमा एउटा विद्यार्थीले पढाइ पूरा गर्न धेरै वर्ष खर्च गर्छ, प्रमाणपत्र हातमा लिन्छ र त्यसपछि “मलाई जागिर चाहियो” भन्दै अवसर खोज्न थाल्छ।
डिग्री प्राप्त गरे पनि यदि व्यवहारिक सीप, आत्मविश्वास, सञ्चार क्षमता, उद्यमशील सोच र काम गर्ने क्षमता विकसित भएन भने शिक्षाको ठूलो हिस्सा अधुरो रहन्छ। कतिपय अवस्थामा पढाइ पूरा गरेपछि फेरि रोजगारीका लागि आवश्यक सीप सिक्न थप समय र पैसा खर्च गर्नुपर्ने अवस्था आउँछ। अन्ततः रोजगारीको खोजीमा विदेश जानुपर्ने र आफ्नो क्षमताभन्दा फरक काम गर्नुपर्ने बाध्यता पनि देखिन्छ।
त्यसैले अबको शिक्षा यस्तो हुनुपर्छ कि पढाइ सकिँदासम्म विद्यार्थीमा कम्तीमा एउटा वा धेरै व्यवहारिक तथा व्यावसायिक सीप विकसित भइसकेको होस्।
उनीहरू केवल जागिर खोज्ने होइन, अवसर सिर्जना गर्न सक्ने र उद्यम सुरु गर्न सक्ने बनून्।
२०२६ मा संयुक्त राष्ट्र बाल कोष (United Nations Children’s Fund–UNICEF) नेपाल ले प्रकाशित गरेको From Learning to Earning प्रतिवेदनले नेपालका युवाहरूमा digital skills, entrepreneurship, creative industries, green jobs र technology-related careers प्रति रुचि रहेको देखाएको छ। साथै practical learning, career guidance, skills training तथा शिक्षा र रोजगारीबीचको सम्बन्धमा रहेका चुनौतीहरू पनि औँल्याएको छ।
यसबाट एउटा स्पष्ट सन्देश लिन सकिन्छ—शिक्षालाई रोजगारी, उद्यमशीलता र वास्तविक जीवनका अवसरसँग जोड्नुपर्छ।
विद्यालय तथा कलेजमा केवल करियरबारे भाषण होइन, वास्तविक career exploration, internship, project work, entrepreneurship project र industry exposure को व्यवस्था हुनुपर्छ।
विद्यार्थीले कक्षा १० वा १२ पुगेपछि मात्र “अब के गर्ने?” भनेर सोच्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ। पाठ्यक्रममै उनीहरूलाई आफ्नो रुचि, क्षमता, सम्भावित करियर र भविष्यका विकल्पबारे बुझ्ने अवसर दिनुपर्छ।
शिक्षा यस्तो होस् कि विद्यार्थीले बारम्बार “म के गरूँ? मैले के गर्नुपर्छ? म के गर्न सक्छु?” भनेर अन्योलमा पर्नु नपरोस्।
५. शिक्षकको भूमिका पनि परिवर्तन हुनुपर्छ
AI र डिजिटल प्रविधिको विकाससँगै शिक्षकको महत्त्व घट्ने होइन; शिक्षकको भूमिका अझ परिवर्तनशील र महत्वपूर्ण हुने देखिन्छ।
अब शिक्षक केवल पाठ्यपुस्तकको जानकारी सुनाउने व्यक्ति होइन। शिक्षक Facilitator, Mentor, Life Coach, Learning Designer र Role Model बन्नुपर्छ।
उनी विद्यार्थीको कुरा ध्यान दिएर सुन्ने, विविध तरिकाबाट पढाउन सक्ने, प्रविधिसँग अपडेट हुने, विद्यार्थीको पारिवारिक तथा सामाजिक पृष्ठभूमि बुझ्ने र पढाउने मात्र होइन, रमाइलो शैलीमा व्यवहारिक ज्ञान सिकाउने व्यक्ति बन्नुपर्छ।
शिक्षकले पाठ पढाउँदा विद्यार्थीलाई यस्तो अनुभूति होस्—“म किताब पढिरहेको मात्र छैन, कुनै रोचक कथा वा चलचित्र हेरिरहेको छु।”
पाठ्यक्रममा आवश्यक ठाउँमा चित्र, इन्फोग्राफिक्स, भिडियो, गतिविधि, कथा, उदाहरण र वास्तविक जीवनका घटनालाई समावेश गर्नुपर्छ। किनकि धेरै अवस्थामा दृश्य सामग्रीले जटिल अवधारणालाई सरल बनाउन र सिकाइलाई स्मरणीय बनाउन सहयोग गर्छ।
शिक्षक शिक्षक मात्र होइन, गुरु बन्नुपर्छ। शिक्षकले पाठ्यक्रम पढाउँछ; गुरु जीवन पढाउँछ।
आर्थिक सहयोग तथा विकास संगठन (OECD) को Teaching Compass ले पनि शिक्षकको agency, well-being र professional competencies लाई भविष्यको शिक्षाका महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ। शिक्षकलाई परिवर्तनको केवल कार्यान्वयनकर्ता नभई curriculum र learning experience का सह-निर्माता का रूपमा हेर्नुपर्ने धारणा त्यसमा छ।
त्यसैले शिक्षक विकासलाई एक-दुई दिनको तालिममा सीमित गर्नु हुँदैन। निरन्तर professional development, peer learning, classroom research र technology integration शिक्षक विकासको नियमित प्रणाली बन्नुपर्छ।
६. परीक्षा प्रणाली बदल्नुपर्छ
यदि हामीले विद्यार्थीलाई वर्षभरि “परीक्षामा राम्रो नम्बर कसरी ल्याउने?” भनेर मात्र सिकायौँ भने अन्ततः शिक्षाको लक्ष्य नम्बरमा सीमित हुन्छ।
अब मूल्याङ्कनले केवल स्मरणशक्ति होइन, बुझाइ, प्रयोग, सिर्जनशीलता, समस्या समाधान, सञ्चार र परियोजना कार्य पनि मापन गर्नुपर्छ।
सानो उमेरका बालबालिकामा परीक्षा र अंकको अत्यधिक दबाबभन्दा संस्कार, अनुशासन, सहकार्य, खेलकुद, जिज्ञासा, सिर्जनशीलता र आत्मविश्वास विकासलाई प्राथमिकता दिनुपर्छ। प्रारम्भिक तहमा सिकाइलाई खेल, गतिविधि र अनुभवसँग जोडेर अघि बढाउनु बढी प्रभावकारी हुन सक्छ।
उच्च कक्षातर्फ बढ्दै जाँदा Project-based Learning, Presentation, Portfolio, Practical Work, Group Problem-solving र Real-life Assignments लाई मूल्याङ्कनको हिस्सा बनाउन सकिन्छ।
विद्यार्थीले “कति अंक ल्यायो?” भन्ने प्रश्नसँगै “उसले के गर्न सक्छ?” भन्ने प्रश्न पनि महत्वपूर्ण बन्नुपर्छ।
७. प्रत्येक विद्यार्थी एउटै तरिकाले सिक्दैन
एउटै कक्षामा सबै विद्यार्थीको क्षमता, रुचि, पारिवारिक वातावरण, सिकाइको गति र आवश्यकता समान हुँदैन।
कुनै विद्यार्थी सुनेर राम्रोसँग सिक्न सक्छ, कसैले हेरेर, कसैले पढेर र कसैले प्रत्यक्ष अभ्यास गरेर। त्यसैले शिक्षणमा विभिन्न विधि र सिकाइ अनुभव को प्रयोग गर्नुपर्छ।
भविष्यको शिक्षा one-size-fits-all मोडेलभन्दा बढी flexible र learner-centred हुनुपर्छ।
कमजोर विद्यार्थीलाई “कमजोर” भनेर छोड्नु होइन; उसलाई आवश्यक support दिनुपर्छ। छिटो सिक्ने विद्यार्थीलाई थप चुनौती दिनुपर्छ।
त्यसैगरी, अपाङ्गता भएका, आर्थिक रूपमा कमजोर, दुर्गम क्षेत्रका तथा विभिन्न भाषिक पृष्ठभूमिका विद्यार्थीका लागि समावेशी व्यवस्था हुनुपर्छ।
यसरी शिक्षा प्रणालीले “सबैलाई एउटै ढाँचामा ढाल्ने” होइन, प्रत्येक विद्यार्थीभित्र रहेको सम्भावना पहिचान गरेर त्यसलाई विकसित गर्ने वातावरण बनाउनुपर्छ।
किनकि प्रत्येक विद्यार्थीको क्षमता एउटै हुँदैन; फरक–फरक प्रतिभा र सम्भावनालाई सही वातावरण दिन सक्नु नै भविष्यको शिक्षाको वास्तविक सफलता हो।
८. डिजिटल शिक्षा भनेको केवल कम्प्युटर राख्नु होइन
विद्यालयमा कम्प्युटर, स्मार्ट बोर्ड वा इन्टरनेट राख्दैमा मात्र डिजिटल शिक्षा हुँदैन।
प्रविधिले सिकाइको परिणाम (Learning Outcome) सुधार्नुपर्छ।
विद्यार्थीलाई डिजिटल उपकरण कसरी प्रयोग गर्ने भन्ने मात्र होइन, त्यसको प्रयोगबाट पढाइलाई कसरी प्रभावकारी बनाउने, सूचना कसरी खोज्ने, स्रोतको विश्वसनीयता कसरी जाँच्ने, साइबर सुरक्षा कसरी कायम गर्ने र डिजिटल संसारमा जिम्मेवार नागरिक कसरी बन्ने भन्ने पनि सिकाउनुपर्छ।
कम्प्युटरको आधारभूत ज्ञानदेखि आवश्यक हार्डवेयर, सफ्टवेयर, डिजिटल सुरक्षा, AI तथा व्यावहारिक प्रविधि प्रयोगसम्मका विषयलाई विद्यार्थीको उमेर र तहअनुसार क्रमशः पाठ्यक्रममा समेट्न सकिन्छ। यसले विद्यार्थीलाई कक्षामै प्रविधिको प्रयोगमार्फत प्रयोगात्मक अभ्यास गर्ने अवसर दिन्छ।
UNICEF ले पनि डिजिटल शिक्षामा प्रविधि मात्र पर्याप्त नहुने र यसलाई evidence-based pedagogy, शिक्षक, शिक्षा प्रणाली तथा equitable access सँग जोड्नुपर्ने स्पष्ट गरेको छ।
त्यसैले नेपालमा “हरेक कक्षामा device” भन्दा पहिले “हरेक विद्यार्थीलाई अर्थपूर्ण डिजिटल सिकाइको अवसर” कसरी दिने भन्ने प्रश्न महत्वपूर्ण छ।
९. प्रारम्भिक बालविकासलाई शिक्षाको पहिलो प्राथमिकता बनाउनुपर्छ
शिक्षा सुधारको सुरुवात विश्वविद्यालयबाट होइन, बाल्यकालबाट हुन्छ।
बालबालिकालाई सानैदेखि अक्षर र अंक रटाउने मात्र होइन, भाषा, सामाजिक व्यवहार, जिज्ञासा, खेल, सिर्जनशीलता, सहकार्य र समस्या समाधान को आधार निर्माण गर्नुपर्छ।
प्रारम्भिक बालविकासमा बच्चाको आत्मविश्वास, जिज्ञासा, सामाजिक व्यवहार र सिक्ने इच्छा विकास गर्नु पनि शिक्षाको महत्वपूर्ण उद्देश्य हुनुपर्छ।
विद्यालय प्रवेश गर्ने उमेरदेखि नै परीक्षा र प्रतिस्पर्धाको दबाबभन्दा सिकाइप्रतिको प्रेम विकास गर्न सकियो भने त्यसको प्रभाव जीवनभर रहन सक्छ।
बाल्यकालमा सिकाइलाई डर र दबाबसँग होइन, खेल, अनुभव, जिज्ञासा र खोजसँग जोड्न सकियो भने विद्यार्थीको भविष्यको सिकाइ यात्रा अझ बलियो बन्न सक्छ।
१०. शिक्षा प्रणालीमा “मानवता” केन्द्रमा रहनुपर्छ
AI जति शक्तिशाली भए पनि शिक्षा केवल technology को परियोजना होइन; यो मानव निर्माणको प्रक्रिया हो।
विद्यार्थीले ज्ञान मात्र होइन, इमानदारी, जिम्मेवारी, सम्मान, सहकार्य, करुणा, अनुशासन, सामाजिक उत्तरदायित्व र नैतिक निर्णय गर्न सिक्नुपर्छ।
भविष्यमा मेसिनले धेरै काम गर्न सक्छ। तर मानव समाजलाई अझै पनि विश्वास गर्न सकिने, जिम्मेवार, संवेदनशील र विवेकशील मानिस चाहिन्छ।
त्यसैले भविष्यको शिक्षा High-tech मात्र होइन, High-touch पनि हुनुपर्छ।
प्रविधिले मानिसलाई सक्षम बनाओस्, तर मानिसको मानवता कमजोर नबनोस्।
नेपालको शिक्षा प्रणालीका लागि एउटा सम्भावित नयाँ सूत्र
अबको नेपाली शिक्षा प्रणालीलाई पाँच आधारमा परिभाषित गर्न सकिन्छ—
Knowledge + Skills + Character + Technology + Purpose
अर्थात् विद्यार्थीलाई ज्ञान, त्यसलाई प्रयोग गर्ने सीप, सही निर्णय गर्ने चरित्र, प्रविधिसँग काम गर्ने डिजिटल क्षमता र जीवनमा आफूले के गर्न चाहन्छु भन्ने उद्देश्य चाहिन्छ।
यससँगै Critical Thinking, Creativity, Communication, Collaboration, Problem Solving, Emotional Intelligence, Financial Literacy, Entrepreneurship, Career Education, Life Skills र Values जस्ता पक्षलाई पनि शिक्षाको अभिन्न हिस्सा बनाउनुपर्छ।
नेपालको School Education Sector Plan ले पनि equitable access, quality learning outcomes, inclusion तथा life/interpersonal skills लगायतका विषयलाई आफ्नो योजनामा समेटेको छ।
तर नीति दस्तावेजमा लेखिनु मात्र पर्याप्त हुँदैन। त्यसलाई कक्षाकोठामा व्यवहारमा उतार्नु नै वास्तविक चुनौती हो।
अन्त्यमा : शिक्षा बदल्ने कि समयले हामीलाई बदल्ने?
आज हामीले शिक्षा प्रणालीबारे गर्ने निर्णयले आगामी पुस्ताको जीवन निर्धारण गर्नेछ।
अब विद्यार्थीलाई केवल “परीक्षामा पास होऊ” भन्न पर्याप्त छैन।
हामीले भन्नुपर्छ—
“समस्या समाधान गर्न सिक।”
“आफ्नो विचार स्पष्ट रूपमा व्यक्त गर्न सिक।”
“प्रविधि प्रयोग गर्न सिक।”
“पैसा व्यवस्थापन गर्न सिक।”
“असफलताबाट उठ्न सिक।”
“अरूसँग सहकार्य गर्न सिक।”
“सही र गलत छुट्याउन सिक।”
“र सबैभन्दा महत्वपूर्ण—आफ्नो भविष्य आफैँ निर्माण गर्न सिक।”
अबको शिक्षा प्रणालीको लक्ष्य केवल रोजगारी खोज्ने जनशक्ति उत्पादन गर्नु मात्र हुनु हुँदैन। यसले रोजगारी सिर्जना गर्न सक्ने, समस्या समाधान गर्न सक्ने, नयाँ कुरा सिकिरहन सक्ने र जिम्मेवार नागरिक बन्न सक्ने मानिस निर्माण गर्नुपर्छ।
किनकि भविष्यको संसारमा प्रमाणपत्रको मूल्यभन्दा क्षमता, चरित्र, सिर्जनशीलता र निरन्तर सिक्ने क्षमताको मूल्य अझ महत्वपूर्ण हुँदै जानेछ।
त्यसैले अब शिक्षा सुधारको प्रश्न “कुन विषय थप्ने?” मात्र होइन।
मूल प्रश्न हो—
“हामीले आज कस्तो विद्यार्थी बनाउँदैछौँ, र भोलिको संसारलाई वास्तवमा कस्तो मानिस चाहिन्छ?”
यस प्रश्नको सही उत्तर खोजेर त्यसअनुसार विद्यालय, शिक्षक, पाठ्यक्रम, परीक्षा, प्रविधि र अभिभावकीय संस्कार परिवर्तन गर्न सक्यौँ भने मात्र हाम्रो शिक्षा प्रणाली भविष्यका लागि तयार हुनेछ।
अबको शिक्षा किताबमा सीमित शिक्षा होइन; जीवनसँग जोडिएको शिक्षा हुनुपर्छ।
अबको विद्यालय केवल पढाउने ठाउँ होइन; भविष्य निर्माण गर्ने प्रयोगशाला बन्नुपर्छ।
अबको विद्यार्थी केवल प्रमाणपत्र बोकेको व्यक्ति होइन; ज्ञान, सीप, चरित्र, सिर्जनशीलता र उद्देश्य बोकेको नागरिक हुनुपर्छ।
— डिआर दाहाल (DR Dahal)
Motivational Speaker, Author & Psychologist
एक्सप्रेस
सम्बन्धित खबर
महलजस्तो घर, शरीरभरि गरगहना तर ग्यास नहुँदा भोकभोकै !
रुषा थापा
भक्तपुर । चार दशकअघि मुलुक हरेकजसो वस्तुमा आत्मनिर्भर थियो । खाद्यान्नदेखि काठसम्म हामी आफैंसँगै पुग्दो हुन्थ्यो । हरेक मानिससँग खेतबारी वा जग्गा थियो । आफूलाई चाहिने अन्न वा तरकारी आफैं उत्पादन गर्थे । त्यतिबेला अहिलेजस्तो खाना पक...
राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान
प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...
जागिरको प्रलोभनमा मौलाउँदै ठगी, सरकार कारबाही गर्छ न श्रमिकको पीडा देख्छ !
रुषा थापा________________
भक्तपुर । बाटोमा हिँडिरहँदा ’कर्मचारी आवश्यकता‘ लेखिएका पोष्टर तथा पर्चा जताततै देखिन्छन् । बत्तीको पोलदेखि घर, स्कुलका भित्तासम्ममा यस्ता पोष्टर र पर्चा टाँसिएका हुन्छन् । जसमा लेखिएको हुन्छ–कर्मचारी आवश्यक,...
नेपाल कालोसूचीमा गर्ने दिन घर्किँदै, अर्थमन्त्री वाग्ले आफ्नै पारामा !
रुषा थापा_______________
भक्तपुर । माघ महिना आउन आठ महिनामात्र बाँकी छ । आठ महिनाभित्र नेपाल ग्रेलिष्टबाट नहटे कालोसूचीमा पर्नेछ । वालेन्द्र शाह (वालेन) नेतृत्वको रास्वपा सरकार गठन भएको एक महिना पूरा भएको छ । यसबीचम...
शिक्षा, खेलकुद र उद्यमशीलता : जिम्मेवार युवाबाट समृद्ध समाजको आधार
मिडियाबाजी डटकम काठमाडौँ, असोज ३०। नेपालका युवा आज इतिहासको निर्णायक मोडमा छन्। देशमा अवसरको कमी, वैदेशिक रोजगारीको आकर्षण र राजनीतिक अस्थिरताबीच पनि केही युवाहरू जिम्मेवार सोच, परिश्रम र नेतृत्वका माध्यमबाट नयाँ आशा बोके...
सरकार काम नगर्ने, सांसदहरु सदन नआउने !
रुषा थापा______
भक्तपुर । गत फागुन २१ ग्ते प्रतिनिधिसभा सदस्य निर्वाचन भयो । २७५ मध्ये एक सय ८२ सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित्यो । त्यसपछि चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्री ब...


