सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप
काठमाण्डौँ । तनहुँको देवघाट गाउँपालिकाका सामुदायिक वनहरूले दुर्लभ तथा बहुमूल्य औषधीय वनस्पति सर्पगन्धाको व्यवसायिक खेती सुरु गरेसँगै वन व्यवस्थापन र आम्दानीको नयाँ सम्भावना देखिएको छ । वनमा काठजन्य प्रजातिमात्र सीमित नरही उच्च आर्थिक तथा औषधीय महत्वका जडीबुटीको उत्पादनतर्फ समुदाय अग्रसर भएपछि देवघाट क्षेत्र जडीबुटी खेतीको केन्द्र बन्न लागेको हो ।
देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले तनहुँ जिल्लामै पहिलो पटक सर्पगन्धाको व्यावसायिक खेती थालेको छ । समूहले गत आर्थिक वर्षदेखि चार रोपनी क्षेत्रफलमा आठ हजार बिरुवा रोपण गरेको छ । उक्त परियोजनामा डिभिजन वन कार्यालय तनहुँले रु चार लाख र मधुवन सामुदायिक वनले रु एक लाख दश हजार गरी कुल पाँच लाख १० हजार लगानी भएको छ ।
सर्पगन्धा खती विस्तार गर्ने अभियानमा देवघाटका अन्य सामुदायिक वन पनि जोडिएका छन् । वडा नम्बर ५ स्थित चक्रवर्ती सामुदायिक वनले चार हजार र रानीवन सामुदायिक वनले एक हजार बिरुवा रोपेका छन् । यसैगरी कालिका सामुदायिक वन तथा वडा नम्बर १ को सुनझाँक्री सामुदायिक वनले प्राकृतिक रूपमा उम्रिएका सर्पगन्धाका बिरुवाको संरक्षण अभियान सुरु गरेका छन् । चालु आर्थिक वर्षभित्र थप बिरुवा रोपण गर्ने योजना समेत वन समूहहरूले बनाएका छन् ।
मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्लीराम अधिकारीले सर्पगन्धाको महत्व र बजार सम्भावनालाई मध्यनजर गर्दै यसको व्यवसायिक खेती सुरु गरिएको बताउनुभयो । “सामुदायिक वनको आम्दानी बढाउनुका साथै वनलाई उत्पादनमुखी बनाउने उद्धेश्यले यो खेती सुरु गरेका हौं,” उहाँले भन्नुभयो, “गत वर्ष रोपिएका बिरुवाको संरक्षण, गोडमेल र विस्तार गर्दै आगामी वर्षहरूमा राम्रो आम्दानी लिन सकिने विश्वास छ ।”
चक्रवर्ती सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारीका अनुसार वनमा फैलिएका झाडी हटाएर बहुमूल्य जडीबुटीको खेती गरिएको हो । “अबको दुई वर्षभित्र यसबाट प्रत्यक्ष आर्थिक लाभ लिन सकिने अपेक्षा गरेका छौं,” उहाँले भन्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनहरूले आम्दानीका वैकल्पिक स्रोत खोज्नुपर्ने बताउँदै देवघाटको तल्लो भेगको हावापानी सर्पगन्धा खेतीका लागि उपयुक्त भएकाले भविष्यमा यसबाट उल्लेखनीय आम्दानी लिन सकिने बताउनुभयो ।
एक्सप्रेस
सम्बन्धित खबर
रायोको सागमा भेटियो उच्च विषादी
काठमाडौँ । कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्र...
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षणविना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिस्ट्रार डा सतिसकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने...
नेपाल पनि निपाह भाइरसको उच्चजोखिममा
काठमाडौँ । छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरस जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएको छ । यो भाइरस छिमेकी देश भारतको पश्चिम बङ्गालमा पुष्टि भएसँग नेपालमा पनि यसको उच्च जोखिममा परेको चिकित्सक बताउँछन् । चमेरा, बङ्गुर लगायतका ज...


