अर्थमन्त्रीलाई प्रश्नः आम्दानीको स्रोत के देख्नुभयो र कर्मचारीको तलब बढाउन लाग्नुभएको ?
रुषा थापा__________________
काठमाण्डौँ । सहकारी, लघुवित्त, फाइनान्स टाट पल्टिएको पाँच वर्ष बढी बितेको छ । अहिले त बैंकमा पनि संकट देखिन थालिसक्यो । मुलुकमा आर्थिक मन्दी छाएको पनि उत्तिकै समय भएको छ । यसबीचमा शेरबहादुर देउवादेखि पुष्पकमल दाहाल (प्रचण्ड), केपी शर्मा ओली, सुशीला कार्कीसम्मले देश सम्हाले भने वर्तमान सरकारमा वालेन्द्र शाह (वालेन) प्रधानमन्त्री छन् ।
सँगै डा.प्रकाशशरण महतदेखि विष्णुप्रसाद पौडेल, वर्षमान पुनसम्म् अर्थमन्त्री भए । हाल स्वर्णिम वाग्ले अर्थमन्त्री छन् । यद्यपि, कसैको पनि कार्यकालमा अर्थतन्त्र सुध्रिएन । न त वाग्लेले अर्थमन्त्रीको जिम्म्ेवारी सम्हालेको दुई महिनामा अर्थतन्त्रमा सुधार आएको देखिन्छ । उल्टै उनी त अर्थतन्त्र ध्वस्त बनाउनतिर लागेको देखिन्छन् । अहिले मुलुक संकटग्रस्त अवस्थामा छ । राजस्व संकलन ठप्पजस्तै भएको छ । जनता कर तिर्न नसक्ने अवस्थामा पुगेका छन् । महँगीले सर्वसाधारणको ढाड सेकिरहेको छ । सरकार भने कर्मचारी र जनप्रतिनिधिलाई पोस्नेतर्फ अग्रसर भएको छ । विगतमा भोटका निम्ति जे हुन्थ्यो, यसपटक पनि त्यही हुँदैछ । यसपालि कर्मचारीको तलबमा भारी वृद्धि गर्न थालिएको छ । तर, यो खेल अहिलेमात्र र पहिलेदेखि हुँदै आएको हो ।
आर्थिक वर्ष २०५६–५७ मा महेश आचार्य अर्थमन्त्री थिए । उनले बजेटमार्फत कर्मचारीको तलबमा एकैचोटि ८० प्रतिशत वृद्धि गरिदिए । अर्थात् त्यसअघि मासिक ४१ सय तलब रहेका कर्मचारीको आठ हजार रुपैयाँ पुग्यो । बाबुराम भट्टराईले पनि अर्थमन्त्री हुँदा कर्मचारीको तलबमा भारी वृद्धि गरिदिएका थिए । विगतमा जुनसुकै दलको सरकार बनेपनि कर्मचारीको तलबमा वर्षेनी वृद्धि गरिन्थ्यो । १५ देखि ३० प्रतिशतसम्म तलब बढाइन्थ्यो । कारण भनिन्थ्यो–कर्मचारीले घुस नखाओस् । तर, खेल भोटको हुन्थ्यो । २६ वर्षअघि मासिक ४१ सय तलब खाने कर्मचारीले अहिले पेन्सन ४१ ह्जार रुपैयाँ बुझ्छन् । सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा पेन्सनमा एक प्रतिशत कर लगाउने निर्णय गरेका थिए ।
तर, उनी अर्थमन्त्रीबाट हट्नेबित्तिकै उक्त व्यवस्था पनि हटाइयो । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट यही जेठ १५ गते अर्थमन्त्री वाग्लेले ल्याउँदैछन् । बजेटमार्फत कर्मचारीको तलबमा ३० देखि ५७ प्रतिशतसम्म वृद्धि हुने बजारमा व्यापक चर्चा छ । अहिले मुख्यसचिवको तलब ७१ ह्जार छ । ५७ प्रतिशत वृद्धि गरिएमा मुख्यसचिवको तलब एक लाख २१ ह्जार रुपैयाँ हुनेछ ।
यस्तै, ३५ हजार तलब भएका कर्मचारीको अब ४५ हजार रुपैयाँ तलब पुग्नेछ । यतिमात्र नभई पेन्सन पनि बढ्नेछ । अहिले २५ हजार पेन्सन थाप्नेले ३४ देखि ३५ हजार पाउनेछन् । कर्मचारीको तलब बढ्नु भनेको जनप्रतिनिधिको पनि तलब बढ्नु हो । राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर, वडाध्यक्षलगायत सबैको बढ्नेछ ।
अहिले जनप्रतिनिधिहरुले पदअनुसार मासिक ५० हजारदेखि तीन लाख रुपैयाँसम्म तलब बुझ्छन् । ५७ प्रतिशत वृद्धिसँगै ८० हजारदेखि चार लाखसम्म पुग्नेछ । कर्मचारी होस् या जनप्रतिनिधिलाई सरकारले पोशाकसमेत दिँदै आएको छ । वार्षिक दुई जोर पोशाकका निम्ति सरकारले आठ हजार रुपैयाँ दिँदै आएकोमा अब पन्ध्र हजार बनाइँदैछ । सँगै झोला, कलमलगायत सबै आवश्यक सामग्री सरकारले नै उपलब्ध गराउँछ । कर्मचारी र जनप्रतिनिधिले बैठक बसेपिच्छे भत्ता पाउँछन् । कार्यालय समयमै बैठक बस्दासमेत भत्ता दिइन्छ । महँगा खाजा खुवाइन्छ । महँगा गाडी चढ्न दिइन्छ । त्योसँगै इन्धन र चालक पनि दिइन्छ । दशैंमा एक महिना तलब बराबरको पेश्की दिइन्छ ।
बिरामी हुँदा निःशुल्क उपचार गराइन्छ, परिवारसमेतको । बीमा गरिदिएको हुन्छ । फिल्डमा गएकोसमेत भत्ता दिइन्छ । तर, यत्रो तलब र सेवासुविधा हुँदासमेत न त कर्मचारीहरु भ्रष्टाचार गर्न छोड्छन् न घुस खानै । घुसबिना सेवाग्राहीका काम गर्दैनन् । कार्यालयको हरेक योजना वा काममा भ्रष्टाचार गर्छन् । सरकारले कर्मचारीलाई तीन लाख रुपैयाँ तलब दिएपनि उनीहरुले घुस खान छोड्ने छैनन् न त भ्रष्टाचार गर्नै ।
वालेन सरकारले सरकारी कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तोकेको छ । तर, अहिलेपनि कर्मचारीहरु बिहान ११ बजे बल्लतल्ल कार्यालय पुग्छन् । बेलुका ५ बजेसम्म बस्नुपर्नेमा ३ बजे नै कार्यालयबाट टाप कस्छन् । बिचौलियासँग मिलेर सेवाग्राहीको काम अड्काउने, घुस खाने क्रम अझै चलिरहेकै छ । अहिलेपनि सरकारी गाडीहरु सार्वजनिक बिदाका दिन बाटोमा गुडिरहेका हुन्छन् ।
कर्मचारीहरु बिदाका दिन परिवार घुमाउन सरकारी गाडी प्रयोग गर्छन्, इन्धन चाँहि राज्यको । यतिमात्र होइन आफन्तलाई डाइभिङ सिकाउन पनि सरकारी गाडी नै प्रयोग गरिन्छ । अनि बिग्रिएमा मर्मत राज्यको ढुकुटीबाट गरिन्छ । मर्मतमा एक लाख रुपैयाँ खर्च भएमा चार लाखको बिल पेश गरेर खाइन्छ । कर्मचारी प्रशासनमा एकदमै बेथिति छ ।
कर्मचारीहरु निकै अटेरी छन् । सरकारले भनेको त मान्दैनन् कर्मचारी अनि सर्वसाधारणको सुन्छन् त । एकचोटि लोकसेवा पास गरेर आएपछि कर्मचारीहरुलाई अरु केही गर्नैपर्दैन । कार्यालयमा काम कम, गफ बढी गर्छन् । छतमा बसेर घाम थाप्छन् । राजनीतिक गफ हाक्ँछन् । सेवाग्राही आउँदा कार्यालयमै हुँदैनन् । यस्ता कर्मचारीको तलब र सेवासुविधा झनै घटाउनुपर्नेमा सरकार भने बढाउन लागिरहेको छ ।
यसले कर्मचारीमा झनै काम नगर्ने बानीमा विकास हुनेछ । अहिले त अंहकारले भरिएका कर्मचारीहरु तलब बढेपछि झन् कस्तो होलान् ? त्यसैले सरकारले सोचविचार गरेर कदल उठाओस् । ०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री बने । उनले ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, एक्लो महिला, अपांगलगायत लक्षित वर्गलाई मासिक एक सय रुपैयाँ भत्ता दिने निर्णय गरे ।
उक्त भत्ता बढेर अहिले चार हजार रुपैयाँ पुगेको छ । आउँदो बजेटमार्फत ६ हजार रुपैयाँ पुर्याइने चर्चा छ । यहाँ दर्जनौं घर र सयौं रोपनी जमिन भएका, छोराछोरी अमेरिका, अस्ट्रेलियामा रहेका वा डाक्टर, इन्जिनियर भएकासमेत भत्ता बुझ्छन् । श्रीमती सरकारी जागिरे भएमा श्रीमान भत्ता बुझ्छन्, श्रीमान सरकारी जागिरे भएमा श्रीमती बुझ्छिन् ।
छोराछोरी सरकारी जागिरे वा जनप्रतिनिधि भएका आमाबुबा पनि मासिक भत्ता बुझ्छन् । भत्ता कस्ता व्यक्तिका लागि हो ? कस्ता व्यक्तिले भत्ता पाउने ? नीतिनियम वा मापदण्ड बनाउनुको साटो सरकार उल्टै बढाउन लागिरहेको छ । गरिब जनताले भने नागरिकता नभएर भत्ता पाउँदैनन्, धनीमानीलाई चाँहि जताजतै सुविधैसुविधा ।
मुलुकमा राजस्व उठिरहेको छ । व्यक्तिदेखि बैंक, वित्तिय संस्थासम्मको लगानी घरजग्गा, गाडी र सेयरमा फसेको छ । यस्तो अवस्थामा कताबाट राजस्व उठाउने र तलब बढाउन लागेको सरकारले ? वालेन सरकार गठनको दुई महिनामै तीन खर्ब वैदेशिक ऋण लिइसक्यो । पहिलेकै ३२ खर्ब बढी छ । भदौ २३ र २४ गतेको आन्दोलनमा सरकारीतर्फ ८४ अर्ब ७७ करोड र ४५ लाख र निजीतर्फ २७ खर्बको क्षति पुगेको छ ।
जेनजी शहिदलाई १५ लाख, मासिक भत्ता र घाइतेको समेत वर्गीकरण गरी मासिक ९ देखि १८ हजार रुपैयाँ भत्ता दिने निर्णय भएको छ । देशभरका जेलमा ३२ हजार कैदीबन्दी छन् । निर्माण व्यवसायीको ४५ अर्ब, कोरोना बीमाको २४ अर्ब, स्वास्थ्य बीमाको ४३ अर्ब, दुध र उखु किसानको सात अर्ब बक्यौता वर्षौदेखि दिएको छैन । राज्यको आम्दानीको स्रोत के छ अर्थमन्त्रीज्यूले कर्मचारीको तलब बढाउन लाग्नुभएको ? वैदेशिक ऋण केही समयमै दोब्बर पुग्नेछ । विदेशीले यत्तिकै ऋण दिएको होइन, नेपाली भूमिमाथि आँखा गाँडेर बसेको छ । अनि सरकार चाँहि कर्मचारी र जनप्रतिनिधिको तलब बढाउनैतिर अग्रसर छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सोलु हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको १ करोड कित्ता आईपीओ आज बाँडफाँट गरेको छ । कम्पनीको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको १० लाख कित्ता सेयरको बाँडफाँट यसअघि नै सम्पन्न भइसकेको छ ।
<...पेट्रोलियम पदार्थको भाउ घटबढ
काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ घटबढ भएको छ । नेपाल आयल निगमका अनुसार इन्डयन आयल कर्पोरेशनले डिजेल र मट्टितेलको भाउ घटाएर पठाएको छ भने पेट्रोलको भाउ बढाएर बढाएको छ ।
सो अनु...
२७ सयको विन्दुमाथि नेप्से, ११ अर्ब ८५ करोडको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाखको सेयर कारोबार भएको ३१ कम्पनीको सेयर मूल्य घट...
साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा कम्पनीले हाल कायम चुक्ता पूँजीको ९...
सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, आज कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल...
ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने
काठमाडौँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन तेल भण्डारबाट तेल तुरुन्तै बजारमा पठाउने जनाएको छ । विश्व बजारमा देखिएको अस्थिरता कम गर्न यस्तो कदम चालिएको जनाइएको छ । एजेन्सीद्वारा आइतबार ज...



