लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने
काठमाडौँ । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन लोकल बस जस्तै जथाभावी सडकको किनारमै थामेर यात्रु चढाउने–ओराल्ने कार्य बढाएको पाइएकाले यसले विशेषगरी ‘पिक आवर’मा सडकमा गम्भीर जाम सिर्जना हुँदै आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, “राजधानीका सडकमा अत्यधिक भिडभाड तीव्र गतिमा बढिरहेका छन्, लामो दुरीका गाडीहरूले नियमविपरीत सडक रोकेर यात्रु उठाउने–झार्ने कार्यले जामलाई अझै चर्काएको छ, त्यसैले अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो।”
यसैगरी लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको प्रवक्ता सुवेदीले बताए। “ट्राफिक जामका कारण नागरिकको दैनिकीमा सिधा असर पर्ने भएकाले यसको दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला निकायको समन्वय अपरिहार्य रहेको छ”, उनले भने।
ट्राफिक प्रहरीले सडक अनुशासन मजबुत बनाउन विभिन्न कडाइ पनि अघि सार्दै आएको छ। रातो बत्ती उल्लङ्घन गर्ने, लेन क्रस गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालिएको कार्यालयले जनाएको छ। चालकमा जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले यी कक्षालाई अझ प्रभावकारी बनाउन पनि योजना बनाइएको जनाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
बेलायतमा वर्क परमिट ठगी बढ्दै, नेपाली दूतावासको सचेतना
काठमाण्डौँ । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा नेपालीहरू ठगीमा परेका गुनासो बढेपछि लण्डनस्थित नेपाली दूतावासले सचेत रहन आग्रह गरेको छ। दूतावासका अनुसार नेपालबाट बेलायत आउन चाहने र बेलायतमै रोजगार खोजिरहेका...
शुक्रबार मगर दिवसको सार्वजनिक बिदा
गुल्मी । जिल्लाका ९ स्थानीय सरकारले मगर दिवसको अवसरमा शुक्रबार अर्थात फागुन १५ गते सार्वजनिक बिदा दिएका छन् । कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरुक्षेत्र, गुल्मीदरबार, छत्रकोट, मालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर दिवसको अवसरमा १५ फ...
माधव नेपाल जोडिएको पतञ्जलि योगपीठ जग्गा हिनामिनामा साक्षी बुझ्न आदेश
काठमाडौँ । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग सम्बन्धित पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा साक्षी बुझ्ने आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सर...



