कोरला नाका सञ्चालनपछि मुस्ताङ भन्सारमा तीन दिनमै नौ करोड ७० लाख राजस्व संकलन

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ असाेज ३    मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा रु नौ करोड ७० लाख ६४ हजार राजस्व संकलन भएको छ ।

नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व संकलन गरेको हो । 

कोरला नाका  ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यसम्पादन सोमबारदेखि सुरु गरिएको थियो । चीनतर्फ भन्सार जाँचपास गरी कोरला नाकाबाट हालसम्म १६१ विद्युतीय कारसहित ८५  मालवाहक मझौला कन्टेनर कोरला नाकाको चिनियाँ भन्सारबाट मालवस्तु लोड गरी भन्सार कार्यालय न्हेचुङमा जाँचपासका लागि रोकिएका मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।

चिनियाँ भन्सारबाट जाँचपास भई मुस्ताङ भन्सारमा जाँचपासका लागि रोकिएका ८५ कन्टेनरमध्ये हालसम्म ४५ कन्टेनरको भन्सार जाँचपास भइसकेको उहाँले बताउनुभयो । यहाँबाट जाँचपास भईसकेका ४५ मालवाहक कन्टेनरबाट उल्लेखित भन्सार राजस्व संकलन भएको हो ।

मुस्ताङ भन्सारबाट नेपाली मालवस्तु चीनतर्फ निकासका लागि दुई गाडीको भन्सार जाँचपास भइसकेको भन्सार प्रमुख खड्काले बताए । चीनतर्फ निकासी भएका सामान हस्तकलाका सामग्री हुन् । चीनबाट आयात गरिएका दसैँ लक्षित मालवस्तु लोड गरिएका कन्टेनरमध्ये जाँचपास भइसकेका ४५ कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरिसकेको र जाँचपास हुन बाँकी ४० कन्टेनरको भन्सार जाँचपास हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । यसैगरी चीनबाट आयात गरिएका १६० विद्युतीय गाडीको पनि भन्सार जाँचपास हुन बाँकी रहेको उनले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर