कूल वस्तु व्यापारः एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१    चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको थियो। चालु आवको पहिलो महिना अर्थात् गत साउनमा कूल वस्तु आयात ११ दशमलव चार प्रतिशतले वृद्धि भई रु एक खर्ब ४३ अर्ब चार करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा शून्य दशमलव छ प्रतिशतले कमी आएको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव पाँच प्रतिशत, १४ दशमलव एक प्रतिशत र २० दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामल/धान, कोइला, रासायनिक मललगायत वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहनलगायत वस्तुको आयात घटेको छ।

समीक्षा अवधिमा निर्यातआयात अनुपात १६ दशमलव सात प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव पाँच प्रतिशत थियो। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ४३ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ अर्ब ९८ करोड बराबर भएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर