मिडियाबाजी डटकम काठमाडौँ भाद्र २८ । राष्ट्रिय जनमोर्चाले संसद बाहिरबाट सरकार गठन गर्नु र संसद विघटन गर्नु दुवै कार्य गलत भएको बताएको छ ।
अध्यक्ष चित्रबहादुर केसीले शनिबार वक्तव्य प्रकाशित गरी सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम भएको जनाएका छन् ।
जनमोर्चाले ‘संसदको विघटन नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण हो’ भनेको छ ।
यस्तो छ वक्तव्य
१) यही भाद्र २७ गते राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन तथा “नवगठित” अन्तरिम सरकारबाट संसद विघटनको सिफारीसप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।
२) राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार संसद बाहिरबाट गठन गरेको हुनाले राष्ट्रपतिको उक्त कार्यको हामीले विरोध गर्दछौँ । सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम भएको छ ।
३) सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो काम प्रतिनिधिसभालाई भङ्ग गर्ने भएको छ । हामीले प्रतिनिधिसभालाई विघटन गर्ने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्णयलाई गलत मान्दछौँ र त्यसको विरोध गर्दछौँ । जेनजी आन्दोलनका अगुवाहरूले संसदको विघटनलाई पूर्वशर्त बनाएका थिए, जुन गलत थियो । उनीहरूका गलत मागका विरुद्ध राष्ट्रपतिले अडान लिन नसकेको नै स्पष्ट हुन्छ । संसदको विघटन नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण हो ।
४) जेनजी आन्दोलनलाई आफ्नो प्रतिगामी उद्देश्यका पक्षमा लैजान राजावादीहरूले पूरा शक्ति लगाएका थिए । त्यसमा उनीहरू पूरा सफल हुन सकेनन् । तर संसदको विघटनले उनीहरूको प्रतिगामी उद्देश्यलाई केही मद्दत पुग्ने छ । त्यसकारण संसद बाहिरबाट अन्तरिम सरकारको गठन र संसदको विघटनबाट प्रतिगामी शक्तिहरूलाई मद्दत पुग्न नपाओस्, त्यसतर्फ गणतन्त्रका पक्षधर सम्पूर्ण राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौँ ।