मिडियाबाजी डटकम काठमाडौँ भाद्र २३ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ।
कोशी, मधेस र बागमती प्रदेशको पहाडी भूभागका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराइ भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।