एमाले विधान महाधिवेशन : १० वटा समूहमा प्रतिवेदनमाथि छलफल हुँदै

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २१ ।   ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज प्रतिवेदनहरूमाथि समूहगत छलफल हुँदैछ ।

आज दोस्रो दिनको कार्यक्रममा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुँदैछ। हिजै यी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहे पनि समय अभावको कारण प्रस्तुत हुन पाएन।

आज तीनवटा प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि सबै प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी छ। प्रतिनिधिलाई १० समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन्।

शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको पहिलो दिन शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्।

आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा.पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर