शुक्रबार देशभर ३४ विपदका घटना

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २१ । शुक्रबार देशभर कूल ३४ विपदका घटना घटेका छन्।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, अविरल वर्षा, चट्याङ, आगलागी, जनावर आक्रमणजस्ता विपदका घटना घटेका छन्।

विपदमा परेर एकको मृत्यु, छ जना घाइते भएका छन्। विभिन्न पाँच वटा सडकमा अवरोध भएका छन् भने अनुमानित क्षति तीन लाख ९५ हजार बराबर भएको छ।

प्राधिकरणका अनुसार, पाँचथर, ताप्लेजुङ, लम्जुङ, मुस्ताङ, रोल्पा, रुकुमपूर्व, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, डोटी, बझाङ र सोलुखुम्बुमा पहिरोकारण जनजीवन प्रभावित भएको छ।

यस्तै, सोलुखुम्बु, कास्की, दाङ, कालिकोट,रुकुम पश्चिम, बैतडी, डडेल्धुरामा अविरल वर्षाका घटना भएका छन्। यसैगरी बझाङ, सुनसरी, ओखलढुंगा, रुपन्देही, सर्खेत, मुगु, कैलालीमा चट्याङका घटना भएका छन्। यस्तै, सर्लाही, बर्दिया, कञ्चनपुर र डोटीमा जनावर आक्रमणको घटना घटेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका अनुसार, गत वैशाखदेखि यही भदौ १८ गतेसम्म कूल तीन हजार ४४७ वटा विपदका घटना घटेका छन्। त्यसमा परेर २२१ जनाको निधन भएको छ।

यस्तै, २२ जना नागरिक बेपत्ता भएका छन् भने ८११ जना घाइते भएका छन्। ती घटनामा परेर छ हजार २६१ घरपरिवार प्रभावित भएका छन्।

कूल २५४ वटा बाढीका घटना भएका छन् । त्यसमा परेर २७ जनाको निधन भएको छ भने २२ बेपत्ता भएका छन्। यस्तै, १० जना घाइते भएका छन् भने एक हजार ८१२ घरपरिावर प्रभावित भएका छन्। यस्तै, ४१८ वटा पहिरोका घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने ५५९ घरपरिावर प्रभावित भएका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर