मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १२ । अष्ट्रेलिया टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा तीन विकेटको पराजित भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनएको थियो ।
नेपालका लागि भीम सार्कीले ३२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २६ रन जोडे । त्यस्तै आसिफ शेखले २२ रन जोड्दा आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए । साउथ अस्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मेनेन्टीले समान दुई तथा म्याकफाडेन र मेन्जिसले समान एक विकेट लिए ।
नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य साउथ अष्ट्रेलियाले अन्तिम बलमा सात विकेट गुमाउँदै पूरा गर्यो । साउथ अष्ट्रेलियाका लागि विन्टरले ३६ रन बनाए भने होगनबोइजिमले २८ रन बनाए । त्यस्तै कप्तान म्याकेन्जी हार्भेले २७ रन जोड्दा ड्रियुले २४ र मनेन्टीले २२ रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिँदा रोहितकुमार पौडेलको भागमा दुई विकेट रह्यो ।