मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १० । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्धको भ्रष्टाचार मुद्दामा आज (मंगलबार) पेसी तोकिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको हो । खड्काको मुद्दा १२ औं नम्बरमा छ ।
१५ असार २०८० मा विशेष अदालतले खड्कालाई अकूत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको थियो । विशेषको निर्णयलाई चुनौती दिँदै खड्का २२ फागुन २०८१ र नेपाल सरकार १२ चैत २०८०मा सर्वोच्च आएका थिए । दुवै पक्षको पुनरावेदनलाई एकै ठाउँमा राखेर सर्वोच्चले सुनुवाइको पेसी तोकेको हो ।
विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम संग्रौला डा. खुसीप्रसाद थारुको इजलासले खड्काले गैरकानुनी सम्पत्ति आयआर्जन गरेको ठहर गर्दै १ वर्ष ३ महिना कैदसहित बिगो अनि जरिवाना भराउने फैसला सुनाएको थियो ।
विशेषले ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो र सोहीबमोजिम जरिवाना गराउने भनेको थियो । त्यसैगरी आरोपपत्रमा जफतको दाबी लिइएको खड्काको घरजग्गा, शेयर नगद बैंक मौज्दात सबै जफत गर्ने विशेषको फैसलामा भनिएको थियो ।