मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ९ । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्याएको छ।
दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन्। अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक संघीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको हो।
उक्त सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने न्यून आयभएका दम्पतीले राहत महसुस गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुणा झा बताइन्।
“निजी क्लिनिकमा गएर निःसन्तानपनको उपचार गर्न नसक्ने गरिब तथा विपन्न वर्गका दाम्पतीलाई सरकारी अस्पतालमा सर्वसुलभ तरिकाले उपचार सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमा सेवा सुरु गरेका थियाैं”, उनले भनिन्,“अझैपनि धेरैलाइ निःसन्तान क्लिनिकले प्रदान गर्ने सेवाको बारेमा जानकारी पयाप्त मात्रामा पुग्न सकेको छैन, त्यसैले सोचेजस्तो सेवाग्राही आएका छैनन्”।
अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा अञ्जुदेव र स्त्रीरोग विशेषज्ञ डा मधुमिता राणाले उक्त क्लिनिक सञ्चालन हुँदै आएको क्लिनिकमा सेवा प्रदान गरिरेका छन्। परामर्श, प्रारम्भिक परीक्षणदेखि लिएर आवश्यक भएमा आययूआईसम्मको सेवा विभागमार्फत दिइने गरिएको छ।
निजी अस्पतालको खर्च धान्न नसक्ने धेरै दम्पती यहाँ सुलभ शुल्कमा परीक्षण, परामर्श र उपचार सरकारी अस्पतालमै सञ्चालन भएपछि धेरैलाई आशा पलाएको प्रमुख डा अञ्जुदेव बताउँछिन्।
“हामीले संघीय राजधानीको प्रसूति गृह अस्पताल सरहको शुल्कमै सेवा प्रदान गरिरहेका छौं”, उनी भन्छिन्, “हामीले आइयूआई सेवाको शुल्क करिब ६ हजार तोकेको छाैं जुन निजी क्लिनिकमा दोब्बर वा सो भन्दा बढीपर्छ। शुल्क सस्तो भएपछि मध्यम आयवर्गका दम्पतीलाई यसले ठूलो राहत दिएको छ। ”