समानान्तर कमिटी बनाएका सञ्जीव राई एकीकृत समाजवादीको युवा संघबाट निलम्बित

  १३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ८ ।  माधवकुुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट युवा संघ नेपाल केन्द्रीय अनुशासन आयोगले सह–संयोजक सञ्जीव राईलाई ६ महिनाका लागि निलम्बन गरेको छ ।

आयोगका अनुसार गत २०८२ साउन ३ गते भित्र स्पष्टीकरण पेस गर्न भनिए पनि राईले लिखित जवाफ पेस नगरी संगठन विपरीत गतिविधि जारी राखेको जनाइएको छ । उनले सामाजिक सञ्जालमार्फत संगठन विरोधी प्रचार–प्रसार गरेको, समानान्तर समिति गठन गरेर संगठनको आन्तरिक जीवनलाई प्रभावित पारेको र संघको एकता तथा अनुशासनमा गम्भीर आघात पुर्‍याएको आयोगले जनाएको छ ।

संगठनका इञ्चार्ज लक्ष्मण केसीको सिफारिसमा बनेको नयाँ राष्ट्रिय महाधिवेशन आयोजन समिति गठन भएपश्चात राईले समानान्तर समिति बनाएको आरोप लागेको हो । संघको विधान २०७८ को धारा १६ (घ) अनुसार, आयोगले राईलाई साधारण सदस्यता समेत नदिई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय लिएको छ ।

यस विषयमा आयोगका अध्यक्ष विकल केसीले ‘अनुशासन विपरीतका कार्यलाई संगठनले गम्भीरतापूर्वक लिएको’ भन्दै आगामी दिनमा यस्ता गतिविधि सहन नसक्ने चेतावनी समेत दिएका छन् ।

यता संस्थापन पक्षले भने राईलाई समानान्तर कमिटी बनाउन झलनाथ खनालले निर्देशन दिएको र आफ्नो छोरालाई अगाडि बढाउनका लागि पृष्ठभूमि तयार गर्दै गरेको दाबी गरेको छ । यता स्वघोषित रूपमा समानान्तर कमिटीमा अध्यक्ष बनेका राई युवा संघमा सह–संयोजक छन् भने उपाध्यक्ष निर्भीक खनालको भने उता युवा संघमा कुनै पनि पद अहिलेसम्म छैनन । राई र खनाल ठेक्का–पट्टाको व्यवसायमा साझेदार भएको र केही कम्पनी पनि कालो सूचीमा रहेका उनीहरूको दाबी गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर