मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ८ । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्काद्वारा संयुक्त रूपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले नेपालको समग्र रूपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए।
उनले भने, ‘मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र बिदेसिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक छ। अहिले देशभरि झन्डै हरेक नेपालीको घरमा बत्तीको उज्यालो पुगेको छ। तर बत्तीको उज्यालोले मात्रै पुग्दैन।’
देशको हरेक क्षेत्रमा उज्यालो हुनुप¥यो भनेर उज्यालो नेपाल अभियान सुरु गरेको उनले बताए।
घिसिङले भने, ‘म प्राधिकरणमा आउँदा हाम्रो कुल विद्युत् उत्पादन ८०० मेगावाट थियो, अहिले झन्डै ४ हजार मेगावाट पुग्न लागेको छ। पाँच गुना बढी उत्पादन भई रहेको छ। अरू हजारौँ मेगावाटका आयोजनाहरू निर्माणाधीन छन्। अहिले रु २५ अरब वार्षिक महसुल उठाई रहेका छौँ। प्राधिकरणलाई आर्थिक रूपमा सबल बनायौँ। आम जनताको सहयोग नभएको भए यो सम्भव हुने थिए।’
यस्तै, उनले मुलुकको हरेक क्षेत्रमा रहेको अँध्यारो हटाउने, आशा जगाउन र हरेक नेपालीको अनुहारमा उज्यालो छर्ने संकल्पका साथ अगाडी बढेको भन्दै यसकै लागि खाडी मुलुकहरू, अमेरिका, युके, बेल्जियम, द नेदरल्याण्डस, माल्टा हुँदै स्पेनको भ्रमणबाट हिनेको बताए।