मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ६ । अमेरिकाले आफ्नो देशमा बस्ने साढे पाँच करोड विदेशी नागरिकहरूको भिसा रेकर्ड जाँच गरिरहेको छ ।
यो जानकारी अमेरिकी विदेश विभागले दिएको छ । यी सबै मानिसहरू वैध भिसामा अमेरिकामा बसिरहेका छन् ।
विभागले प्रत्येक भिसा धारकको निरन्तर निगरानी गरिने बताएको छ । यदि कुनै पनि किसिमको नियम उल्लङ्घन गरेको पाइएमा तत्काल भिसा खारेज गरेर देश निकाला गर्ने तयारी भएको समाचारसंस्था एपीले जनाएको छ ।
विभागका अनुसार अनुसन्धान विशेष गरी भिसाको म्यादभन्दा बढी बसेको, आपराधिक गतिविधिमा संलग्न भएको, सार्वजनिक सुरक्षालाई खतरामा पार्ने, आतंकवादी गतिविधिमा संलग्न भएको वा कुनै आतंकवादी संगठनलाई समर्थन गरेको जस्ता मुद्दाहरूमा केन्द्रित हुनेछ ।
यसका लागि विभागले कानुन प्रवर्तन एजेन्सीहरूको रेकर्ड, अध्यागमन कागजातहरू र भिसा जारी भएपछि प्रकाशमा आउने सबै जानकारीहरूको जाँच गर्नेछ । मन्त्रालयले अहिलेसम्म विद्यार्थी भिसा सबैभन्दा बढी खारेज भएको जनाएको छ ।
पछिल्लो वर्षको तुलनामा यस वर्ष विद्यार्थी भिसा खारेज हुने संख्या चार गुणा बढी भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विदेशीको बढ्दो संख्याले अमेरिकी रोजगारीमा असर पारेको टिप्पणी गरेका छन् ।
भिसा पाएकाहरुको सामाजिक सञ्जाल, गृहदेशका आप्रवासन तथा कानूनी अभिलेख र अमेरिकामा भएका गतिविधिसम्मको परीक्षण गरिने मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका अनुसार ट्रम्प फेरि राष्ट्रपति बने यता छ हजार बढी विद्यार्थी भिसा खारेज गरिएको छ । तीमध्ये झण्डै चार हजार कानून उल्लङ्घनका कारण र झण्डै तीन सय आतंकवादी गतिविधिमा संलग्न भएको कारण खारेज गरिएको खबरमा उल्लेख छ ।