शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ६ ।  हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन, यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ ।

निकुञ्जमा ४६५ प्रजातिका चरा पाइन्छ । तीमध्ये १९ प्रजाति विश्वमै दुर्लभ श्रेणीका चरा यहाँ पाइन्छ।

जसमा विश्वमै दुलर्भ सिमतित्रा, सारस, भुँडीफोर गरुड, खर मजुर, सानो खरमजुर, सेतो गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, बोक्सी चिल, जीवहारा महाचिल, लघु महाचिल, सानो बौडाइ, राज लहाँचे, सेतो कण्ठे धिप्सी, कासेघाँसे, बरी, नरक भ्याकुर, सुनौलो तोप चरा, बगाल बगेडीलगायत चरा निकुञ्जमा पाइन्छ ।

नेपाल पंक्षी संरक्षण संघ (वीसीएन) का चराविज्ञ हिरुलाल डगौराका अनुसार ती दुर्लभ प्रजातिमध्ये सबैभन्दा संकटापन्न अवस्थामा खरमजुरछ। निकुञ्जमा यो चराको संख्या निकै कम छ । घाँसे मैदानमा बासस्थान बनाउने यो चरा शुक्लाफाँटाको पहिचानसँगै जोडिएको छ ।यस्तै सुनौलो तोप चरा त शुक्लाफाँटामा मात्र पाइन्छ । घाँसे मैदानदेखि लालपानी, मोहनपुर, सिंहपुर जस्ता क्षेत्रमा यसको उपस्थिति देखिन्छ ।

घाँसेमैदान र सिमसार क्षेत्र नजिकका काँटेदार रुखहरूमा यो चराले गुँड लगाउँछ । एउटै रुखमा यो चराका दर्जनौँ गुँड रहने गर्दछन् । ठूलो धनेस र राजलहाँचे जस्ता प्रजाति भने निकुञ्जको घना सालको जङ्गलमा पाइने चराविज्ञ डगौरा बताउँछन् । हिउँदमा बसाइँ सर्ने क्रममा आउने सेतो कण्ठे धिप्सी, ताल–तलाउ वरिपरि बस्ने सारस तथा विभिन्न किसिमका गिद्धहरू पनि यहाँ पाइन्छ ।

निकुञ्जमा गिद्धका आठ प्रजाति पाइन्छ, जसमध्ये चार प्रजाति डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र सेतो गिद्ध अति संकटापन्न अवस्थामा छन् । डङ्गर गिद्धको संख्या केही बढेको भए पनि बाँकी प्रजातिहरूको संख्या अत्यन्तै न्यून रहेको चराविज्ञ डगौरा बताउँछन् । निकुञ्जमा पाइने गिद्धका प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को रातो सूचीमा सूचीकृत छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर