मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ५ । इजराइलले गाजा शहर कब्जाको पहिलो चरण घोषणा गरेको छ ।
गाजामा युद्धविरामका लागि नयाँ प्रस्तावमा छलफल चलिरहेको बेला इजराइलले सम्पूर्ण गाजा कब्जाको पहिलो चरण घोषणा गरेको हो ।
जसअन्तर्गत ठूलो संख्या सैनिकहरू गाजा क्षेत्रमा परिचालन गरिनेछ । इजराइली सेनाले बुधबारदेखि नै प्रारम्भिक सैन्य कारबाही सुरू गरिसकेको र आफ्ना सैनिकहरू गाजा सहरको बाहिरी इलाकामा पुगिसकेको जनाएको छ । गाजा कब्जा अभियानका लागि ८० हजार रिजर्भ सैनिकलाई बोलाएको छ ।
इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको अन्तिम गढमध्ये एक मानेको गाजा शहर कब्जा गर्न सेनाले ६० हजार नयाँ रिजर्भ सैनिक बोलाउने र थप २० हजार सैनिकको सेवा अवधि लम्ब्याउने निर्णय गरेको बताएका छन् ।
‘हामीले गजा सहरमा आक्रमणको प्रारम्भिक कारबाही र पहिलो चरण सुरू गरिसकेका छौं । यो ठूलो अभियानको पहिलो कदम हो,’ इजराइली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले भने ।
हिब्रु विश्वविद्यालयको एक सर्वेक्षणअनुसार लगभग ४० प्रतिशत सैनिकमा सेवा गर्ने उत्प्रेरणा घटेको छ । युद्ध अन्त्य हुनुपर्छ भन्ने पक्षमा अधिकांश इजराइली जनताको समर्थन देखिनु र सेनाभित्र बढ्दो निराशाले इसराइलको सैन्य क्षमतामाथि नै प्रश्न उठेको छ ।
३०० दिनभन्दा बढी गाजामा सेवा गरेका अवशालोम जोहर सालले सिएनएनसँग भने, ‘म फेरि युद्ध मोर्चामा फर्कन तयार छैन । सरकारको यो निर्णय बन्धकहरूका लागि मृत्युदण्ड जस्तै हो ।’ उनले सरकारको लक्ष्य हमासलाई नष्ट गर्नु मात्र रहेको तर त्यो असम्भव भएको बताए ।
यो द्वन्द्व सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमाथि आक्रमण गरेपछि सुरु भएको थियो, जसमा करिब १,२०० इजराइली मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो । त्यसयता इसराइलको आक्रमणमा ६२ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्, जसमा अधिकांश महिला र बालबालिका छन् ।