मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख बढीले आवेदन फारम भरेका छन् ।
रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ईपीएस कोरिया शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो ।
जसमा एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका ईपीएस शाखाले जानकारी दिएको छ । यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जस अन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण हुनेछन् । तर आवेदन दिनेमध्ये उत्पादन क्षेत्र र कृषि क्षेत्रको छुट्याउन बाँकी रहेको पनि शाखाले जानकारी दिएको छ ।
नेपालको श्रम रोजगार तथा सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच भएको समझदारी पत्र अनुसार ईपीएस प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिक श्रमिकको रुपमा जाँदै आएका छन् । यस प्रयोजनका लागि योग्य उम्मेदवार छनोट गर्न प्रथम चरणमा भाषा परीक्षा सञ्चालन गरिन्छ ।
यस वर्षका लागि एचआरडी कोरियाले अनुमानित ५ हजार ३ सय कोटा छुट्याउँदै परीक्षा कार्यक्रमको तालिका पठाएको हो । परीक्षाको मिति भने पछि प्रकाशित गरिनेछ । परीक्षा एक दिनमा बढिमा ५ सिफ्टमा सञ्चालन हुनेछ। आवेदन संख्याका आधारमा र अन्य कुनै कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ ।
कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्ने पनि सूचनामा जानकारी दिइएको छ । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सिप तथा प्रतिस्पर्धा क्षमता परीक्षणमा समेत उत्तीर्ण भएपछि मात्रै रोजगार आवेदन फारम भर्न सक्ने छन् । दोस्रो चरणको परीक्षा सम्बन्धी जानकारी प्रथम चरणको परीक्षाको नतिजा प्रकाशनपछि सार्वजनिक गरिनेछ ।