मिडियाबाजी डटकम काठमाडौँ, साउन ३० । भारत जम्मु–कश्मीरको किश्तवाड जिल्लाको चिशोती गाउँमा भारी वर्षापछि आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
उक्त घटनामा १२० जना घाइतेको पहिचान भएको छ । मृतक र घाइतेको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । क्लाउड ब्रस्टपछि चिशोती गाउँमा आकस्मिक बाढी आएको थियो, जसले धेरै घरहरूमा क्षति पु¥याएको छ ।
किश्तवाडका प्रमुख जिल्ला अधिकारी पंकज कुमार शर्माले चिशोती क्षेत्रमा आकस्मिक बाढी आएको पुष्टि गरेका छन् र उद्धार कार्य शुरू भइसकेको जनाएका छन् ।
भारतका केन्द्रीय राज्य मन्त्री डा. जितेन्द्र सिंहले पनि जिल्ला प्रशासनसँग सम्पर्क गरेर उद्धार कार्यको प्रगति बुझेका छन्। उनका अनुसार, ठूलो जनधनको क्षति हुने सम्भावना छ र प्रशासन तत्कालीन रूपमा उद्धार तथा स्वास्थ्य सेवा व्यवस्थापनमा सक्रिय छ ।
जम्मु–कश्मीरका उपराज्यपाल कार्यालयले ट्वीट गर्दै घटनाप्रति दुःख प्रकट गरेको छ । शोकाकुल परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
हालसम्म करिब ९८ जनाको उद्धार गरिएको छ, तर धेरै व्यक्ति अझै हराइरहेका छन् । जनधनसँगै पशुधनमा पनि ठूलो क्षति भएको छ । घटनास्थल किश्तवाड मुख्यालयदेखि करिब ८०–९० किलोमिटर टाढा पर्छ ।