मिडियाबाजी डटकम काठमाडौँ, साउन १९ । कञ्चनपुर बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी १८ बर्षीया सम्झना भट्ट आफ्नै कोठमा मृत भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो ।
सम्झना घरभित्र झ्याल ढोकामा चुकुल लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घरको ढोका फोडेर सम्झनाको शव बाहिर निकालिएको थियो । सम्झना र पवनबीच गत फागुन महिनामा प्रेम विवाह भएको थियो ।
‘१४-१५ वर्षकै उमेरदेखि उहाँहरुबीच प्रेम सम्बन्ध थियो । विवाह भन्दा पहिला पनि विवाद र झगडा प्रहरीसमक्ष पुगिसकेको थियो’, एक प्रहरी अधिकारीले भने, ‘गत मंसिरमा पनि जिल्ला प्रहरी कार्यालयको महिला सेलामा दुई दिनपछि विवाद निरूपण गरिएको थियो ।’ घटना अनुसन्धानका लागि उनका पति २४ वर्षीय पवन भट्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहोराले जानकारी दिए ।
सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरीरमा घाउचोट समेत देखिएको आरोप माइती पक्षको छ । डीएसपी बोहोराले पनि घटना शंकास्पद देखिएको बताए । त्यसपछि काठमाडौंमा पनि झगडा भएको र सम्झनाको शव भेटिनुको अघिल्लो दिन पनि स्थानीय प्रहरी कार्यालयले उनीहरूलाई सम्झाएर पठाएको पाइएको छ ।
‘घटना भन्दा अघिल्लो दिन इलाका प्रहरी कार्यालय बेल्डाडीमा पनि उनीहरूको विवाद पुगेको थियो’, ती प्रहरी अधिकारीले भने, ‘सम्झाएर पठाएको भोलिपल्टै घरमा उनको शव भेटिएको हो ।’ किशोरीको उमेर १८ वर्ष र उनका पतिको उमेर २४ वर्ष वर्ष रहेको प्रहरीले जनाएको छ । कम उमेरमै विवाह गरेकी सम्झनालाई घरमा कुटपिट हुने गरेको आरोप लागेपछि सोधपुछको लागि श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएका छन् ।
परिवारहरूले घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि घटनाको निष्पक्ष अनुसन्धान हुने जनाएको छ । ‘घटनाबारे हामी गम्भीर छौँ श्रीमानसँग सोधपुछ भइरहेको छ’ जिल्ला प्रहरी कार्यालयका डिएसपी बोहराले भने, ‘शवको पोस्टमार्टम हुँदैछ । घटनाको वास्तविकता आउँछ।’