तीजको रमाइलोमा नयाँ गीतले ल्यायो मिठास : “सोच सोच केटी हो” सार्वजनिक

  १९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ७ ।   तीज पर्वको रौनक सुरु भइसकेको छ ।

गाउँदेखि सहरसम्म महिलाहरू नयाँ पोशाक र नृत्यको तयारीमा व्यस्त छन् । यसैबीच गायक रामचन्द्र काफ्ले र गायिका भाबना आचार्यको स्वरमा आएको ‘सोचा सोच केटी हो’ नामक नयाँ तीज गीतले चर्चा पाएको छ ।

यो गीतको भिडियोमा चर्चित अभिनेत्री शिल्पा पोखरेलको आकर्षक अभिनय देख्न पाइन्छ । गीतका शब्द र संगीत गायिका भाबना आचार्यकै सिर्जना हुन् । भिडियोमा परम्परागत ढोल–मादलको तालसँगै आधुनिक संगीतको मिश्रण देख्न सकिन्छ । नृत्य, पोशाक र दृश्यको समन्वयले यो भिडियोलाई अझै मनमोहक बनाएको छ । गीत सार्वजनिक भएको केही दिनमै लाखौँको सङ्ख्यामा हेरिएको छ र सामाजिक सञ्जालमा यसले अत्यधिक प्रशंसा बटुलेको छ ।

तर गीतले दिने सन्देशमा एउटा गहिरो चेतावनी पनि लुकेको छ । तीजको नाममा अहिले अति खर्च गर्ने, ऋण खोजेर नयाँ गहना किन्ने, सौन्दर्य देखाउने नाममा घरको मासिक बजेटभन्दा बढी उडाउने चलन तीव्र बन्दै गएको छ । यस्तो प्रवृत्तिले केही समयको रमाइलो त दिन्छ तर पछि परिवारको आर्थिक अवस्था डगमग्याउन सक्छ ।

तीजको वास्तविक खुसी आत्मीयता र संगतमा छ, न कि हजारौँ रुपियाँ खर्चेर झिलिमिली प्रदर्शनमा । अबको तीजमा गहना र पोशाकले होइन, परिवारसँगको माया र विवेकपूर्ण खर्चले महत्व पाउने समय आएको छ । यही चेतावनीको मिठास गीतले दिएको छ—रमाइलो गरौँ, गीत गाउँ, तर विवेक गुमाएर होइन, होसियारी र बचतसहित । यही हो तीजको असली रमाइलो र सही शैली ।

तपाईंको प्रतिक्रिया

थप खबर