यस्ता छन् कृषिमन्त्री रामनाथ अधिकारीका वर्ष दिनका उपलब्धिहरु

  १७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ५ ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरि कृषकहरुलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरु भएको बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानहरूको जीवनस्तर सुधार लाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गरेका हुन्।

मन्त्री अधिकारीले भने, ‘यो अवधीमा आफ्नो सोच अनुरुपका सबै काम गर्न नसके पनि मुलुकको समग्र कृषि क्षेत्रको सुधार र किसानका पक्षमा रहेको यस अवधिमा म र मन्त्रालय मार्फत भएका निर्णयहरुले पनि पुष्टि गरेको छ।’

यस अवधीमा विगत लामो समयदेखि समस्याका रुपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको, जसमा रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र मल वितरण सम्बन्धी कार्यविधी संशोधन गरिएको साथै यसबाट मल आपूर्ती तथा वितरण व्यावस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीले उल्लेख गरे।

विगत सात वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारीहरुको समायोजन अनुसारको संगठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरि संगठन सुदृढ तथा व्यवस्थापन गरिएका,बीउ विजन नियमावली, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको, कृषि तथा पशुपन्छी विमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको जस्ता यस अवधीमा गरिएका कामहरु मन्त्री अधिकारीले बताए।

त्यस्तै कृषि क्षेत्रको एकिकृत कानुनको रुपमा रहेको कृषि विधयेक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भैइ मन्त्री परिषद्मा लैजाने अन्तिम तयारी रहेको, त्यसैगरि पशु कल्याण ऐनलाई पनि अन्तिम रुप दिइएको पनि मन्त्री अधिकारीले जानकारी गराए। केही वर्ष देखि थन्किएर रहेको खाद्य गुणस्तर परीक्षण गर्ने चारवटा मोबाइल भ्यान संचालनमा आएको बताए।

तपाईंको प्रतिक्रिया

थप खबर