मिडियाबाजी डटकम काठमाडौँ, साउन ३। देश-विदेशका समाचारहरू छिटो, सही र रोचक शैलीमा प्रस्तुत गर्दै आएको डिजिटल मिडिया प्लेटफर्म मिडियाबाजी डटकम आफ्नो चौथो वर्षमा प्रवेश गरेको छ । तीन वर्षअघिदेखि निरन्तर सञ्चालनमा रहेको यस अनलाइन समाचार पोर्टलले पत्रकारिता क्षेत्रमा आफ्नै छुट्टै परिचय बनाउन सफल भएको छ ।
स्थापना भएको पहिलो दिनदेखि नै मिडियाबाजी डटकमले समाजका विविध पक्षहरूलाई आवाज दिँदै आएको छ । राजनीतिक घटनाक्रम, मनोरञ्जन, खेलकुद, अन्तर्राष्ट्रिय विषय, आर्थिक समाचारदेखि जनजीवनसँग प्रत्यक्ष सम्बन्धित विशेष सामग्रीहरू नियमित रूपमा प्रकाशन गर्दै यसले छोटो समयमै पाठकको ठूलो विश्वास जितेको छ ।
गत तीन वर्षको यात्रामा मिडियाबाजी डटकमले आफ्ना पाठकहरूका लागि सधैँ नयाँपन र मौलिकताको खोजी गरेको छ । विशेषतः तथ्यमा आधारित समाचार, अन्वेषणात्मक सामग्री र पाठकको भावना बुझेर तयार पारिएका रिपोर्टहरूले यसलाई अरू मिडियाभन्दा फरक बनाएको छ । सामाजिक सञ्जालमा यसको प्रभावशाली उपस्थिति छ, जहाँ दैनिक लाखौँ मानिसहरूले सामग्री हेरेर प्रतिक्रिया दिँदै आएका छन् ।
अनलाइन पत्रकारिताको प्रतिस्पर्धी बजारमा पनि मिडियाबाजी डटकमले आफ्नो स्थान मजबुत बनाउन सफल भएको छ । डिजिटल पत्रकारितामा देखिएका चुनौतीहरू जस्तै तथ्यपरकता जोगाउनु, झुटा समाचारको भिडमा सत्य पस्कनु, प्राविधिक कठिनाइहरू पार गर्नु,यसबारे पनि यस संस्थाले विशेष ध्यान दिएको छ । यही कारणले तीन वर्षको छोटो अवधिमा पनि यसले धेरैको मन जितेको छ ।
चौथो वर्षमा प्रवेशसँगै मिडियाबाजी डटकमले अझै नवीनता ल्याउने, थप अनुसन्धानमुखी समाचारहरू पस्कने, भिडियो सामग्रीमा लगानी बढाउने र युवा पत्रकारहरूलाई अवसर दिने योजना सार्वजनिक गरेको छ । सम्पादक निर्मल पुरी `भाेगी´ भन्छन्, “हामीलाई पाठकहरूको विश्वास नै हाम्रो ऊर्जा हो। आगामी दिनहरूमा मिडियाबाजी डटकमलाई अझै प्रभावकारी, आधुनिक र जनमुखी बनाउन हामी निरन्तर प्रयासरत रहनेछौँ।”
मिडियाबाजी डटकमको यो सफल यात्रा नेपालका डिजिटल मिडियाका लागि प्रेरणादायक कदमको रूपमा हेरिएको छ । चौथो वर्षको प्रारम्भसँगै यसले अझै व्यापक पाठकवर्गलाई सशक्त सूचनाका साथ जोड्ने लक्ष्य लिएको छ ।