एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

  २१ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३।   सत्तारुढ नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्दैछ ।

हिजो शुक्रबारबाट जारी बैठक च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकमा विधान संशोधन प्रस्तावमा छलफल हुनेछ । हिजोको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोलेका थिए ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोलेका थिए । अध्यक्ष ओलीले अहिले पार्टीको मुख्य काम विधान महाधिवेशन र विधि निर्माणको काम रहेको बताउँदै विधान निर्माण गर्ने काममा पार्टीका नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिन आग्रह गरेका थिए ।

विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन)को धारा ६४ मा रहेको ७० वर्ष उमेरहद र दुई कार्यकाल व्यवस्था हटाउने राखिएको छ । त्यसैगरी, विधान संशोधन प्रस्तावमा पदाधिकारी संख्या १५ जनासहित केन्द्रीय कमिटीको संख्या दुई सय ५१ रहने राखिएको छ ।

यस्तै, विधान संशोधन प्रस्तावमा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ । यस्तै, विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारी संख्यालाई स्थायी कमिटी मान्ने निर्णय गरिएको छ ।

यसअघि पदाधिकारीलाई सचिवालय सदस्यका रूपमा मानिएको थियो । बैठकले पार्टीमा सदस्य र संगठित सदस्य गरी दुई खालका सदस्य हुने प्रस्ताव गरिएको छ । जनसंगठनमा आबद्ध रहेका सदस्यलाई खारिँदै आएपछि पार्टीले प्रशिक्षित गरेपछि मात्र संगठित सदस्य रहने छन् ।

पोलिटब्युरो बैठकमा महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीको संगठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको भन्दै १५ प्रतिशतले पार्टी संगठित सदस्य बढेको जानकारी गराएका थिए । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर