मिडियाबाजी डटकम काठमाडौँ, असार ३१ । स्पेनको सेभिल्लामा आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउन भनेर नेपालबाट असम्बन्धितहरूलाई लगेको भनिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको हो । समितिमा मानव बेचबिखन ब्युरोका एसपी रुगम कुँवरसहित ६ जना सदस्य छन् ।
गृहमन्त्री रमेश लेखकले प्रहरीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिएसँगै समिति गठन गरिएको सीआईबीका एक जना उच्च अधिकृतले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा असम्बन्धित व्यक्तिहरूलाई समेत बिचौलियाले कागजात बनाएर पठाएको भन्दै संघीय संसदमा सांसदहरुले प्रश्न उठाइरहेका छन् । सेभिल्लामा ३० जुनदेखि २ जुलाईसम्म सम्मेलन चलेको थियो । त्यसमा सहभागी गराउन बिचौलियाहरूले रकम असुलेर केही व्यक्तिहरूलाई भिजिट भिसामा विदेश पठाएको आरोप छ ।