मिडियाबाजी डटकम काठमाडौँ, असार २८ । एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन्।
गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् ।
दुवै बस अहिलेसम्म भेटिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए । तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता रहेका छन् । सो बसमा सात जना भारतीय यात्रु सवार रहेका थिए । तीमध्ये दुई जना मृत फेला परेका थिए भने बाँकी ५ जना भारतीय नागरिक अझै बेपत्ता छन् ।