मिडियाबाजी डटकम काठमाडौँ, असार २३ । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा शुक्रबार आएको भीषण बाढीका कारण कम्तीमा ७८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४१ जना अझै बेपत्ता छन् ।
मृत्यु हुनेमध्ये ६८ जना केअर काउन्टीका रहेका छन्, जसमा २८ बालबालिका पनि समावेश छन् । यस काउन्टीमा एउटा नदी किनारमा रहेको क्रिश्चियन बालिका शिविर (क्याम्प) बाढीले डुबेको थियो । क्याम्प मिस्टिकका १० बालिका र एक सल्लाहकार अझै बेपत्ता छन् ।
अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्ने निश्चित रहेको बताएका छन् । आगामी २४–४८ घण्टामा यस क्षेत्रमा थप वर्षा हुने सम्भावना छ, जसले उद्धार कार्यमा बाधा पुर्याउन सक्छ । उद्धार टोलीहरूले हिलो र भग्नावशेषमा हराएका मानिसहरूको खोजी गर्दा विषालु सर्पहरूको पनि सामना गरिरहेका छन् ।