स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्ने

  १७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २० ।    स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २३ हजार कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो । 

नेपाल धितोपत्र बोर्डले स्वस्तिकलाई कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। जसमध्ये पहिलो चरणमा १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागिएको हो । 

साथै, ०.५० प्रतिशतले हुने ११ सय ५५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुने ११ हजार ५५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यसबाहेक बाँकी रहने १ लाख ९५ हजार ५९५ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गरिने छ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकिएका शाखा तथा सीडीएससीको मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

संस्थाको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर