मिडियाबाजी डटकम काठमाडौँ, असार १९ । भक्तपुरस्थित एक इँटाभट्टाको खलामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठले यस वर्षको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरिन् ।
उनै गोमाको थप अध्ययन र शिक्षाका सम्बन्धमा सञ्चारमाध्यममा खबर सार्वजनिक भएपछि भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराउने बचन दिएका छन् ।
बिहीबार गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरूङ र श्रीमती सावित्री गुरूङले एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका छन् । गुरूङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिवद्धता जनाउँदै गुरुङले त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि सहयोग गर्ने बचन दिएका छन् । चाँगुनारायण नगरपालिका–८ स्थित सुडालको एक इँटाभट्टामा बस्दै आएकी गोमाले बिहान बेलुकी इँटा सुकाउने काममा सहयोग गर्दै आएकी थिइन् ।
उनी धान रोपाइँमा मेला गएर फर्किदा एसईईको रिजल्ट सार्वजनिक भएको र ४ जीपीए प्राप्त भएको थाहा पाएको बताएकी थिइन् । उनले आफूले डाक्टर बन्ने चाहना राखेको बताए पनि भाटभटेनी समूहका अध्यक्ष तथा व्यवसायी गुरूङले एमबीबीएस तहसम्मको अध्ययन खर्च बेहोर्ने प्रतिवद्धतासहित सहयोग गरेको जनाएका छन् ।