मिडियाबाजी डटकम काठमाडौँ, असार १८ । धनुषामा ससुराको हत्या गरी ज्वाइँ फरार भएका छन् ।
बुधबार बिहान ९ बजेतिर जनकपुरधामको हनुमाननगर बस्ने ७० वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले जानकारी दिए ।
जनकपुरकै कुर्था बस्ने ज्वाइँ बेचन महासेठ हत्यापछि फरार छन् । उनले बिहान विमल भएको ठाउँमा पुगेर चक्कु प्रहार गरेको एसपी रेग्मीले जानकारी दिए । प्रहरीले चक्कु पनि बरामद गरेको छ ।
विमलको छाती र पेटमा गरी चार ठाउँमा चोट छ । उनलाई चक्कु प्रहार भएपछि अन्दाजी १५ वर्षीय नातिले उद्धार गरी अस्पताल लगेका थिए । जनकपुरको प्रादेशिक अस्पताल लग्दालग्दै उनको मृत्यु भएको थियो । चिकित्सकले ल्याउने बित्तिकै उनलाई मृत घोषणा गरेको एसपी रेग्मीले बताएका छन् ।
हत्या गर्नुको कारण खुलिसकेको छैन । यद्यपि घटना हेर्दा योजनाबद्ध रहेको प्रहरीले जनाएको छ । ‘घटना हेर्दा योजनाबद्ध देखिन्छ । घरमा कोही नभएको बेलामा आएर हत्या गरी भागेका छन्,’ एसपी रेग्मीले भने, ‘उनको खोजी भइरहेको छ ।’