मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले थप समय मागेपछि सांसदहरूले आपत्ति जनाएका छन् ।
विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा मन्त्री पन्तले सोमबार बसेको समिति बैठकमा थप समय माग गरेपछि सांसदहरूले आपत्ति जनाउँदै आजै टुङ्ग्याउनु पर्ने दबाव दिएका हुन् । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले शिक्षामन्त्री पन्त र कांग्रस प्रमुख सचेतक श्याम घिमिरेले बैठक स्थगित गर्ने प्रस्ताव ल्याएको भन्दै उक्त प्रस्तावप्रति असहमति जनाइन् ।
‘हामीले यो किन गरिरहेका छौ ?, उपसमितिले प्रतिवेदन बुझाएको एक महिना भइसक्यो । प्रतिवेदनमा छलफल गर्नुपर्ने भए पनि मन्त्रीजीले शिक्षक महासंघसँग म छलफल गर्दैछु भन्नु भयो । तर आज टुङ्ग्याउनु पर्ने बेलामा महासंघसँग अझै छलफल बाँकी छ भनेर राख्नुभयो यो आपत्तिजनक छ’, सुवेदीले भनिन् ।