मिडियाबाजी डटकम काठमाडौँ, असार १३ । नेकपा(माओवादी केन्द्र)ले अर्थमन्त्रालय सम्हाल्दा घटाइएको वृद्धभत्ता पाउने उमेर एमालेले पुनः बढाएको छ ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका माओवादीका जनार्दन शर्मा ‘प्रभाकर’ले वृद्धभत्ता पाउने उमेर ६८ वर्ष गराएका थिए । तर, वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले वृद्धभत्ता पाउने उमेर बढाएर फेरि ७० वर्ष कायम गराएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा अर्थमन्त्री रहेका माओवादी उपमहासचिव शर्माले २०७९/८० को बजेटमा वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६८ वर्षमा झारेका थिए । यसले विपन्न र आर्थिक आम्दानी न्यून भएका परिवारलाई ठूलो राहत मिलेको थियो । तर, एमालेका अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२ /८३ को बजेटमा फेरि ७० मै पुर्याएका हुन् ।
नेपालको राजनीतिमा वृद्धभत्ता वितरणको श्रेय एमाले आफैंले लिँदै आएको छ । २०५१ सालमा पहिलो कम्युनिष्ट सरकार सञ्चालन गर्ने अवसर पाएको एमालेले वृद्धभत्ताको सुरुवात गरेको थियो । त्यसयता हरेक सरकारले यसलाई निरन्तरता दिँदै आएका छन् ।
एमालेका मनमोहन अधिकारीको सरकारको पालामा सय रुपैयाँबाट सुरु गरिएको वृद्धभत्ता अहिले ४ हजार पुगेको छ । राजनीतिक लाभका लागि वृद्धभत्ताको रकम बढाएर देशलाई आर्थिक भार पार्ने काम विगतदेखि एमालेको हरेक सरकारले गर्दै आएको छ । यद्यपि, यसपाली भने रकम नबढाएर वृद्धभत्ता पाउने उमेर मात्रै बढाइएको हो ।