मिडियाबाजी डटकम काठमाडौँ, असार १२। राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिएको छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरेका थिए । त्यसैगरी, आजको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले विनियोजन विधेयक– २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गरे ।
संकल्प प्रस्ताव पारित
राष्ट्रियसभाको आजको बैठकले ‘खानेपानी सेवामा हरेक नागरिकको पहुँच अभिवृद्धि गर्न खानेपानी तथा सरसफाइ संस्था-समितिलाई सुविधा प्रदान गर्ने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्नेसम्बन्धी’ संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । सो संकल्प प्रस्तावका प्रस्तावकमा जगप्रसाद शर्मा र समर्थकमा कृष्णबहादुर रोकाया, गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, मदनकुमारी शाह र मोहम्मद खालिद छन्।