किन घट्दैछ नेपालबाट यार्सा गुम्बा निर्यात ?

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ८ ।  पछिल्लो समय नेपालबाट यार्सा गुम्बा निर्यात घट्दै गएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

विभागका अनुसार गत आर्थिक वर्ष (आव) २०८०-८१ को ११ महिनामा नेपालबाट ६४ करोड २२ लाख ७८ हजार रुपैयाँको १ हजार ३१३ किलो यार्सा गुम्बा निर्यात भएको थियो। तर, चालु आवको सोहि अवधिमा निर्यात मूल्य ४२ करोड ६८ लाख ७९ हजार रुपैयाँले घटेको छ।

चालु आवको ११ महिनामा नेपालबाट २१ करोड ५३ लाख ९९ हजार रुपैयाँको ५०६ किलो यार्सा निर्यात भएको पाइएको छ। पछिल्लो समय नेपालमा यार्सा गुम्बाको उत्पादन घट्दै गएका कारण संकलन नै कम हुने भएकाले बिगतको तुलनामा निर्यात घटेको सम्बद्ध व्यवसायीहरु बताउँछन्।

नेपाल यार्सा गुम्बा संघका अध्यक्ष निरन्जन बहादुर चलाउनेले बढ्दो जलवायु परिवर्तनको असरका कारण नेपालमा यार्सा उत्पादन घटेको बताए।

‘खासगरी यार्सा उत्पादन हिमाली भेगमा हुने भएकाले यसको उत्पादन राम्रो हुनकालागि हिमालमा हिउँ पर्नुपर्छ। तर जलवायु परिवर्तनको असरका कारण पछिल्लो समय हिमालमा हिउँ पर्ने क्रम कम भएको छ। जसले गर्दा उत्पादनमा असर पर्न गएको हो,’ उनले भने ‘उत्पादन वृद्धि गरी निर्यात प्रवद्र्धन गर्न सरकारले पनि यसको संरक्षण र उत्पादन वृद्धि तर्फ ध्यान दिनु जरुरी छ।’

नेपालबाट सबैभन्दा बढी यार्सा निर्यात चीनमा हुने गरेको छ। जेठ महिना सम्म चीनमा ३ करोड ८४ लाख ३९ हजार रुपैयाँको १४४ किलो यार्सा निर्यात भएको विभागको तथयांकमा उल्लेख छ। गत आवको सोहि अवधिमा पनि चीनमा २२ करोड ८७ लाख ७५ हजार रुपैयाँको ५७१ किलो यार्सा निर्यात भएको थियो।

नेपालबाट चीन, अस्ट्रेलिया, कम्बोडिया, अस्ट्रिया, चेक रिपब्लीक, ग्रिस, हङकङ, जापान, मलेसिया, सिङ्गापुर, भियतनाम लगायत मुलुकमा यार्सागुम्बा निर्यात हुने गरेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर