मिडियाबाजी डटकम काठमाडौँ, असार ६ । लगातारको वर्षा र बढ्दो सडक जोखिमका बीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ‘सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान २०८२’ सुरु गरेको छ।
अभियान अन्तर्गत उपत्यकाका प्रमुख सवारी नाकाहरूमा नागरिक सहायता कक्ष स्थापना गरी यात्रु र सवारी चालकलाई सचेत गराउने काम सुरु गरिएको हो।
गोंगबुस्थित नयाँ बसपार्कमा आयोजना गरिएको अभियान शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ रहेका थिए । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, नेपाल प्रहरीका पूर्व एआईजी डा गोबिन्द थापा, ट्राफिक प्रहरी, यातायात व्यवसायी, सञ्चारकर्मी र सर्वसाधारण गरी करिब ५०० जनाको उपस्थिति रहेको थियो।
अभियान अन्तर्गत उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दूरीका सवारी साधनका लागि नयाँ बसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।
यी कक्षमार्फत ट्राफिक प्रहरीले सवारी चालक, सहचालक तथा यात्रुहरूलाई बाढी, पहिरो, सडकको अवस्था र सम्भावित जोखिमबारे तत्काल सूचना प्रदान गर्नेछ। साथै, यात्राका क्रममा अपनाउनुपर्ने सावधानी र सुरक्षा उपायहरूबारे समेत जानकारी दिइनेछ।
कार्यक्रममा बोल्दै एआईजी तामाङले वर्षायाममा यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे पूर्वजानकारी लिएर यात्रा गर्नुपर्नेमा जोड दिए ।
महासंघ अध्यक्ष विजय स्वाँरले यस वर्ष भारी वर्षाको सम्भावना रहेको भन्दै यात्रुहरूलाई तथ्यमा आधारित सूचना लिएर मात्रै यात्रा गर्न आग्रह गरे । उनले यातायात व्यवसायीहरूलाई पनि सावधानीपूर्वक सेवा प्रवाह गर्न आह्वान गरे ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० नवराज अधिकारीले नागरिक सहायता कक्ष स्थापना गर्नुको उद्देश्य सडकका सम्भावित अवरोध तथा प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति न्यूनिकरण गर्नु रहेको बताए ।
कार्यक्रममा सहभागी सरोकारवाला निकायहरूले यात्रु सुरक्षाका लागि यस्तो किसिमको अभियान महत्वपूर्ण रहेको भन्दै नियमित रूपमा सूचनाको प्रवाह, समन्वय र चाँडो प्रतिक्रिया प्रणाली अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए।
यस अभियानले वर्षायाममा हुने दुर्घटना, जाम, सूचना अभाव र यात्रु असहजता कम गर्न सहयोग पुग्ने ट्राफिक प्रहरीले विश्वास व्यक्त गरेको छ।