मिडियाबाजी डटकम काठमाडौँ, असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूका कुरा सुन्न नचाहेपछि संसद् बैठक बहिष्कार गरिएको बताएको छ।
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो। तर, रास्वपाले संसद् अवरोधलाई निरन्तरता दिएपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएका थिए।
बैठक अरू कार्यसूचीमा प्रवेश गरेपछि रास्वपाले नाराबाजी गरेको थियो । बैठककक्षबाट प्रधानमन्त्री बाहिरिएपछि रास्वपाका सांसदले पनि बैठक बहिष्कार गरेका थिए। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्रीले आफूहरूलाई बोल्न नदिएपछि बैठक बहिष्कार गरेको बताएका छन्। ‘हामी प्रधानमन्त्री ज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौँ। तर, उहाँले त्यो कुरा सुन्न चाहनु भएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनु भयो’, झाले भनेका छन्, ‘तसर्थ, हामीले बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएकाले बैठक बहिष्कार गरेर निस्किएका छौँ ।’