मिडियाबाजी डटकम काठमाडौँ, असार ३ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरुको सेटिङमा नक्कली कागजात बनाएर भिजिट भिसामार्फत विदेशिनेहरुले मोटो रकम बुझाएको विवरण अध्यागमन प्रमुखको डायरीमा भेटिएको छ ।
अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अध्यागमन प्रमुख रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईको डायरीबाट भिजिट भिसामा विदेश जानेहरुको नामावली र उनीहरुबाट संकलित रकमको विवरण फेला परेको अख्तियार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार भिजिट भिसामा जानेहरुको नामावली र उनीहरुलाई पठाउने मेन पावर, ट्राभल एजेन्सी र विमानस्थलमा समन्वय गर्ने कर्मचारीको विवरण समेत सहसचिव भट्टराईको डायरीमा भेटिएको हो ।
गत जेठ ७ गते अख्तियारले अध्यागमनमा छापा हानेर प्रमुख भट्टराईलाई नियन्त्रणमा लिएको थियो । साथै कागजात र मोबाइल समेत जफत गरेर अख्तियारले अनुसन्धान गरिहेको छ ।
विगत लामो समयदेखि त्रिभुवन विमानस्थलबाट नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने धन्दामा त्यहाँकै अध्यागमनका कर्मचारीको संलग्नता देखिएपछि अख्तियारले सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यस प्रकरणमा गृहमन्त्रालयकै उच्च तहका कर्मचारीदेखि गृहमन्त्री रमेश लेखककै समेत संलग्नता रहेको आरोप लागेको छ । मन्त्री लेखककै सचिवालयमा रहेका कर्मचारी समेत यसअघि भिजिट भिसा प्रकरणमै अनुसन्धानको दायरामा आएका थिए । उनीहरुलाई नै गृहमन्त्री लेखकले फेरि आफ्नै सचिवालयमा राखेपछि लेखकमाथि प्रश्न उठेको हो ।
यस प्रकरणमा मन्त्री लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरुले सदन अवरोध गर्दै आएका छन् । प्रतिपक्षी दलले गत जेठ १३ गतेदेखि सदन अवरुद्ध गर्दै आएकोमा माओवादीले भने सत्तारुढ दलसँग सहमति गरेर सदन सुचारु गर्न सहमत भएको छ । अन्य प्रतिपक्षी दल राप्रपा र रास्वपाले भने गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसदमा अवरोध कायमै राखेका छन् ।