मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३१ । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेश ३ -०१००६ ख ४५ ८५ नम्बरको ट्रकका चालक धादिङको गल्छि गाउँपालिका ७ का ३४ वर्षीय सन्तोष तामाङ, ना ५ ख ७४ ११ नम्बरका ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १३ का २९ वर्षीय अरबिन्द दमाई र मधेस प्रदेश ०३-००१ख ९६ ३६ नम्बरका ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १७ का ३४ बर्षीय गोकर्ण अर्याललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बताए ।