मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २५। सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव आज (आइतबार) चौंथो दिन फेला परेको छ।
आइतबार बिहान कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकैबाट गोताखोर साउदको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए कुरिन्टारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोर डिएसपी पुरूषोत्तम भण्डारी नेतृत्वको टोलीले शव निकालेको हो। उनी बेपत्ता भएको चौंथो दिनमा शव फेला परेको हो। उनीसँगै बेपत्ता भएका हरदेव राजवंशीको शव शुक्रबार फेला परेको थियो।
डिएसपी थापाका अनुसार हरदेवको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा फेला परेको थियो। बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्व तयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए। दुवै जनाले २०८० र ०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए। त्यसयता उद्धारका लागि विभिन्न ठाउँमा खटिएका पनि थिए।