मिडियाबाजी डटकम काठमाडौँ,जेष्ठ ११। सूर्यविनायक नगरपालिका-३ स्थित एक घरमा ५० वर्षीय रोशनी शाही मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनी हुन् नेपाली राजनीतिको चर्चित महरा काण्डकी एक पात्र।बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन्।जनप्रतिनिधिको रोहवरमा कोठा फोडेर हेर्दा सुत्ने कोठाको भुइँमा उनको शव फेला परेको हो ।उनका श्रीमान उपत्यका बाहिर गएका छन्। केही दिनदेखि उनी कोठामा एक्लै रहेकी थिइन्।जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज न्यौपानेका अनुसार आइतबार दिउँसोसम्म पनि उनी बसेको कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ।
के कति कारणले मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। रोशनी शाहीको मृत्युले उक्त पुरानो मुद्दालाई पुनः सार्वजनिक चासोको केन्द्रमा ल्याएको छ। सामाजिक सञ्जालमा उनको मृत्यु रहस्यमय र शंकास्पद भएको तर्कसहित निष्पक्ष छानबिनको माग उठ्दैछ। प्रहरी स्रोतका अनुसार हालसम्म आत्महत्याको आशंका गरिएको छ तर अन्तिम निष्कर्ष पोष्टमार्टम रिपोर्टपछि मात्र आउनेछ। पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराले जबर्जस्ती करणी गरेको भन्दै शाहीले ६ वर्ष अगाडि प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।