मिडियाबाजी डटकम काठमाडौँ, जेठ ७ । नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न सुरु गरेको छ। शनिबार रातिबाट भारतमा विद्युत् निर्यात थालिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले बताएका छन्। प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन्।
‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताउँदै मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी भारततर्फ निर्यात सुरु भएको जानकारी दिए।
उनले भारतबाट ३५० मेगावाट विद्युत् आयात भइरहेको अवस्थामा वर्षा सुरुभएसँगै उत्पादन बढेर आजैबाट आयात रोकेर निर्यात सुरु गरिएको बताए।
‘हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको थियो। तर, अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत् पुग्नेगरी आपूर्ति भइरहेको छ,’ उनले भने।
मंगलबार मध्यरातीदेखि भारतमा ७ सय ३१ मेगावाट विद्युत् बिक्री गरिसकिएको प्राधिकरणले जनाएको छ। मन्त्री खड्काले पछिल्लो समय देशमा लोडसेडिङ भएको भन्ने हल्लाबारे गम्भीर आपत्ति जनाउँदै यसलाई नियोजित भ्रम फैलाउने अभियानको संज्ञा दिए।