एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम एकसाथ

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , वैशाख ३१ । लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्तिश्री परियार फेरि एउटै मञ्चमा तर यो मञ्च गीतको हो, जहाँ उनीहरूलाई एक वर्षपछि फेरि सँगै देखिएको छ। लामो समयसम्म सार्वजनिक रूपमा एकअर्कासँग बोलचाल नभएको चर्चा चलिरहँदा, उनीहरूबीचको सम्बन्धमा आएको ‘दरार’को कुरा संगीत क्षेत्रमै चर्किएको थियो। तर सोमबार सार्वजनिक भएको ‘परदेशी हुनै मन छैन’ बोलको नयाँ गीतले भने यी दुई कलाकारबीचको सम्बन्ध पुनः वार्तालाप र सहकार्यतर्फ मोडिएको संकेत दिएको छ।

उक्त गीतका रचनाकार तथा म्युजिक भिडियोका निर्माता प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकी हुन्, जो हाल दरबारमार्ग प्रहरी वृत्तमा कार्यरत छन्। बुढाथोकीले लेखेको गीतमा स्वर दिएका छन् शान्तिश्री परियार र खेम सेन्चुरीले। भिडियोमा पनि यी दुईको उपस्थिति छ, जहाँ उनीहरू भावनात्मक रूपमै सँगसंएँगै प्रस्तुत हुन्छन्।

खासमा, खेम र शान्तिश्रीले ‘बिदेश जाने रेल’, ‘पर्ख पर्ख मायालु’ जस्ता दर्जनौं सुपरहिट गीतहरूमा सहकार्य गरिसकेका थिए। उनीहरूले नेपाली लोकसंगीतलाई नयाँ उचाइ दिन सफल भएको थियो। तर, पछिल्लो एक वर्षमा उनीहरू अलग-अलग यात्रा गर्दै आएका थिए। व्यक्तिगत आरोप–प्रत्यारोप सार्वजनिक भए, जसले संगीतकर्मीहरूदेखि श्रोतासम्मलाई उनीहरूको सम्बन्धबारे सोच्न बाध्य बनायो।

यस्तो पृष्ठभूमिमा ‘परदेशी हुनै मन छैन’ गीतले भने उनीहरूलाई फेरि एउटै फ्रेममा ल्याएको छ। गीतको शब्दहरू परदेशी जीवनको पीडा, अपूरो प्रेम र समर्पणको भावनाले भरिएको छ। सायदै यो संयोग हो, तर यही भावनात्मक संयोजनले शान्तिश्री र खेमलाई फेरि एकसाथ ल्याएको छ। कतै यसले कलाकारहरूको सम्बन्धमा नयाँ सन्देश त दिएको छैन?

भूपेन्द्र बुढाथोकीको पहलमा तयार भएको यो गीत केवल संगीतको पुनर्मिलन मात्र नभएर आत्मीयता र सहकार्य पुनः सम्भव छ भन्ने सन्देश पनि बोकेको छ। यद्यपि, खेम र शान्तिश्रीले व्यक्तिगत रूपमा अझै सम्बन्ध सुधारिएको औपचारिक घोषणा गरेका छैनन्। तर, संगीतमार्फत आएको यो सहकार्यलाई धेरैले ‘प्रारम्भिक मेलमिलाप’को संकेतका रूपमा लिएका छन्।

संगीतमा पुनर्मिलनले मात्रै होइन, भिडियोमा उनीहरूको सहजता र आत्मीय प्रस्तुतिले पनि दर्शकहरूलाई गहिरो अनुभूति गराएको छ। श्रोताहरूले सामाजिक सञ्जालमा लेखिरहेका छन्—“व्यक्तिगत सम्बन्ध जे भए पनि, संगीतमा यिनको साथ सदाबहार देखिन्छ।”

कलाकारहरूबीच व्यक्तिगत असहमति हुँदाहुँदै पनि संगीतले उनीहरूलाई फेरि नजिक ल्याएको यो उदाहरण नयाँ पुस्ताका संगीतकर्मीहरूका लागि पनि प्रेरणा बन्न सक्छ। सम्बन्धमा केही क्षण चिसो भए पनि, सहकार्यका ढोका खुल्ला रहँदा सम्भावनाहरू कहिल्यै बन्द हुँदैनन्। यही सम्भावनाको प्रतिविम्ब हो ‘परदेशी हुनै मन छैन’।

तपाईंको प्रतिक्रिया

थप खबर