मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २८ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।