डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

  बैशाख २६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २६ ।  जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ । यसले डिजिटल कुलतको सुक्ष्म रूप र त्यसले पार्ने प्रभावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । आज मोबाइल हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । एक समय सम्पर्कको माध्यम मात्र रहेको मोबाइल अहिले हाम्रो जीवनशैलीलाई नै निर्देशित गर्ने शक्तिशाली औजार बनेको छ । दुःखको कुरा, यसको कुलतमा बालबालिका पनि फस्दै गइरहेका छन् । ‘झिल्को’ ले यही ज्वलन्त समस्यालाई उजागर गरेको छ ।

निर्देशक यादव भट्टराईले बालबालिकामा बढ्दो डिजिटल कुलतको गम्भीर समस्यालाई चलचित्र ‘झिल्को’ मार्फत उजागर गरेका छन् । आजभोलि खाना खानुभन्दा अगाडि मोबाइल चलाउने, अनलाइन गेम खेल्ने र युट्युबमा ‘भिडियो’ हरू हेर्ने बानी बालबालिकाका लागि सामान्य जस्तै भइसकेको छ । चलचित्रमा यिनै विषयवस्तु र त्यसले पार्ने नकारात्मक असरलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यस चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी र सुनिल पोखरेल जस्ता कलाकारले सशक्त अभिनय गरेका छन्, जसले कथालाई जीवन्त बनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर