लिङदेनको चेतावनी : आन्दोलनलाई कमजोर ठाने बढारिनु पर्ला

  बैशाख २५, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २५। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्‍याएरै छाड्ने बताएका छन् । आज (बिहीबार) राजवादीले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा उनले आन्दोलन निष्कर्षमा पुर्‍याउने दाबी गरेका हुन्। आन्दोलनमा दमनको सहारा लिए बढारिनुपर्ने उनले चेतावनी समेत दिएका छन् । ‘यसलाई अन्देखा गर्नुभयो, दमनको सहारा लिनुभयो, कमजोर ठान्नु भयो भने बढारिनु पर्ने परिस्थिति आउन सक्छ । आग्रह छ, बढार्न नपरोस्’, उनले भने ।

अब बल सरकराको कोर्ट रहेको समेत उनले बताएका छन् । ‘बल सरकारको कोर्टमा छ । कुनै दमनको जालझेलको सहारा लिएर होइन । समझदारीमा आउनुस्’, लिङदेनले भने । राजसंस्थाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु नभएको उनले बताए । राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्र स्थापनाका लागि आगामी जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गर्ने घोषणा राजवादीले गरेका छन्। ‘यो आन्दोलन कुनै पार्टी र समूहको लागि होइन । कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्नका लागि होइन । यो देशको भविष्य बनाउनका लागि हो,’ लिङ्देनले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर