मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २२ । राष्ट्रिय तथ्याङ्क कार्यालयले अबको ३० वर्ष (विसं.२१११) सालसम्ममा नेपाल बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरेको छ । राष्ट्रिय जनगणना २०७८ को विषयगत प्रतिवेदनहरू सार्वजनिक गर्ने क्रममा आज (सोमबार) नेपालमा बुढ्यौली अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले यस्तो अनुमान सार्वजनिक गरेको हो ।
प्रतिवेदन अनुसार २०७८ सालसम्ममा नेपालमा ६० वर्ष वा त्योभन्दा माथिको संख्या कुल जनसंख्याको १० दशमलव २ प्रतिशत पुगेको छ । यो संख्या २०६८ सालमा ८ दशमलव १ प्रतिशत थियो । २०४८ सालको जनगणनाको भन्दा २०७८ सालमा ज्येष्ठ नागरिकको संख्या ३ गुणा बढेको छ । जनसंख्या पिरामिडले युवाबहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले जानकारी दिए ।